Chauthoanga - Nepali News Media
पर्सिसम्म नै हल्कादेखि मध्यम वर्षाको सम्भावना, काठमाण्डौमा आज दिउँसाे ११/१२ बजेपछि पानी पर्ने अनुमान

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

काठमाण्डौमा दिउँसो ११/१२ बजेपछि पानी पर्ने सम्भावना देखिएको मौसमविद् झाले बताउनुभयो । आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उहाँले बताउनुभयो । दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परेको हो । यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ । भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ । यसले तराईका जिल्लामा गर्मी कम भएको छ । काठमाण्डौमा भने चिसो छ । प्रि-मनसुनको समयमा कतिपय ठाउँमा आरीघोप्टे वर्षासमेत हुने अर्का मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

विज्ञहरूले थोरै अवधिमा धेरै पानी खनिने गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको