Chauthoanga - Nepali News Media
दाङमा दुई वटा बस एकआपसमा ठोक्किदा एक जनाको मृत्यु, ३६ जना घाइते
सामाजिक संजालबाट

दाङ - दाङको पुर्व–पश्चिम राजमार्गमा दुई वटा बस एक–आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भिर रहेको छ ।

दाङको लमही–३ फल्कारपुरमा भएको दुर्घटनामा परी रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नम्बर ७ का ४३ वर्षिय शोभा परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकार दिएको  छ ।

दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको नाइट बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको लु २ ख ७८५ नम्बरको लोकल बस शुक्रबार बिहान साढे ६ बजेतिर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै बसमा आगलागी भएको थियो ।

दुर्घटनामा परी रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नम्बर ४ का कमल विकका ९ वर्षिय छोरा किरण विक, रुण्टीगढी–७ का २० वर्षिय मिना पुन, रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ झेनामका टिकाराम नेपालीको छोरा अन्दाजी ९ वर्षिय विवेक नेपाली, सोहि वडाका १५ वर्षिय तिलक नेपाली गम्भिर घाइते भएको प्रवक्ता गौतमले बताउनुभयो ।

यस्तै रोल्पाको रुण्टीगढी–८ का २० वर्षिय पूर्ण विक, दाङको तुलसीपुर–५ का २५ वर्षिय परख खड्का, राप्ती गाउँपालिका–६ पत्थरगढवाका अन्दाजी २२ वर्षिय सिम्रन चौधरी, ना ५ ख ४८९८ नम्बरको नाइट बसको सहचालक सर्लाही–३ पप्पु खान, लमही नगरपालिका ९ का १९ वर्षिय किरण रमीयाल, रुण्टीगढी–७ का ४३ वर्षिय निमा थापा, लु २ ख ७८५ नम्बरको लोकल बसका चालक लमही–९ च्याउखोलाका २३ वर्षका तुलसीराम रामीयाल गम्भिर घाइते हुनुभएको छ ।

गम्भिर घाइते रामीयालको नेपालगञ्जमा उपचार भइरहेको छ भने अन्य गम्भिर घाइतेको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा रुण्टीगढी–७ का २० वर्षिय लक्ष्मी थापा र उहाँकै एक महिनाको छोरी , ना ५ ख ४८९८ नम्बरको नाइट बस चालक पर्साको बिरगन्ज महानगरपालिका–१५ का ५४ वर्षिय बलविर सिंह , सहचालक सर्लाही–९ का ५२ वर्षिय कृष्ण भण्डारी, कपिलवस्तुको बुद्धभूमी नगरपालिका ९ का ३३ वर्षिय चन्दुराम थारु, बारा कलैया उपमहानगरपालिका वडा नम्बर ७ का ५० वर्षिय गफार मियाँ, तुलसीपुर उपमहानगरपालिका १६ का २० वर्षिय सरोज गिरी घाइते हुनुभएको छ ।

यस्तै पर्साको विरगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का अन्दाजी २१ वर्षिय राजावावु साहु, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ का अन्दाजी २१ वर्षिय दिपेन्द्र बुढाथोकी, रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नम्बर ७ का १९ वर्षिय सन्ध्या विक, उहाँकै छोरा २ वर्षिय प्रकाश विक, तुलसीपुर–१६ का २३ वर्षिय पार्वती पुन, उहाँकै १८ महिनाको छोरी लक्ष्मी पुन, रोल्पाको रुण्टीगढी–७ का १८ वर्षिय रमा बस्नेत, उहाँकै ११ महिनाको छोरा शिव बस्नेत घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षिय आशाराम घर्तीमगर, रुण्टीगढी गाउँपालिका ८ का १७ वर्षिय अर्जुन विक, रुण्टीगढी गाउँपालिका ५ का ५० वर्षिय निमबहादुर विक, भारतको मोतियारी घर बताउने २० वर्षका साहिल जेहन, तुलसीपुर–१६ का २२ वर्षिय गोपाल पुन मगर, अछामको ढकारी गाउँपालिका १ का २४ वर्षिय मनिषा थापा, उहाँकै श्रीमान २६ वर्षिय सागर थापा, छोरा ६ वर्षिय बसन्त थापा घाइते हुनुभएको छ ।

यस्तै दुर्घटनामा परी रुकुम पश्चिमको बाफिकोट नगरपालिका ४ का ४८ वर्षिय पञ्चलाल परियार घाइते हुनुभएको छ । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पतालमा उपचार भइरहेको छ । साथै केहीलाई जिल्ला बाहिर समेत रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको