Chauthoanga - Nepali News Media
रिभर फल्स पावरको आईपीओ खुल्याे

काठमाण्डाै : रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । 

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको २५ लाख ३८ हजार नाै सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

निष्कासित शेयरमा लगानीकर्ताले आजदेखि छिटोमा आउँदाे जेठ ४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा मागअनुसार आवेदन नआए आउँदाे जेठ ११ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत 'मेरो शेयर' प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ । 

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाकाे पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको