Chauthoanga - Nepali News Media
दाङमा आज रोजगार मेला

दाङ- स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ दाङमा रोजगार मेलाको आयोजना गरिएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा आज शुक्रवार घोराहीमा बृत्ति मार्ग निर्देशन रोजगार मेला हुनेभएको हो ।  स्वीस सरकारको आर्थिक सहयोग र हेल्भिटास नेपालको प्राविधिक सहयोगमा सरकारसँगको द्विपक्षीय परियोजना अन्तर्गत उपमहानगरपालिका सामाजिक विकास महाशाखा तथा रोजगार सेवाकेन्द्रको आयोजनामा सो मेला आयोजना हुन लागेको हो ।

मेलाले विद्यार्थी तथा युवाहरुलाई वृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आआफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

नगरप्रमुख चौधरीका अनुसार रोजगार मेलामा बृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइनेछ । त्यस्तै सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिने र स्थानीय उत्पादन प्रदर्शन गरिनेछ । मेलामा करीब २ हजार पाँच सय जनाको सहभागिता रहने वताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको