Chauthoanga - Nepali News Media
कसैको विरोध गरेर पार्टी बलियो बन्दैनः सभापति देउवा

काठमाडौं,- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताउनुभएको छ । शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने जिकिर गर्नुभयो । उहाँले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उहाँले अब युवा पुस्ताकै पालो भएको बताउनुभयो ।

सभापति देउवाले पार्टीका लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पार्नुभयो । उहाँले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले आफूले कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आ आफूले सहयोग गर्ने मात्रै रहेको बताउनु भयो ।

‘‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् ।

विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’’

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनउन सकिने बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको