Chauthoanga - Nepali News Media
संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा असर पर्ने

दाङ- संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा प्रभाव पर्ने देखिएको छ । सरकारले बनाउँदै गरेको नीति तथा कार्यक्रममा नयाँ योजना भन्दा पुरानै योजनालाई निरन्तरता दिने विषयलाई प्राथमिता दिएको छ तर रोजगारी सिर्जना र स्थानीय उत्पादनका सामग्रीलाई ब्राण्डिङ गर्ने जस्ता नयाँ योजना भने सञ्चालन गरिने भएको छ ।

ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपालि अघि नसार्ने तर प्रत्यक्ष लाभ प्राप्त हुने योजनालाई अघि सारिने भएको छ । ‘नयाँ योजना सार्दै नसार्ने भन्ने होइन, नयाँ पनि आउँछन् तर बजेटको सीमालाई ख्याल राखिन्छ’– योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले भन्नुभयो– ‘क्रमागत योजनालाई पहिला सक्छौं । त्यसपछि नयाँमा पाँच÷छवटा योजना छन् । ती योजनालाई अघि बढाउँछौं ।’ संघीय सरकारले आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै चार अर्ब बजेट कम छुट्याएको छ ।

चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो तर आगामी आर्थिक वर्षको लागि घटेर १५ अर्ब ३८ करोड ४२ लाख बजेट आउने भएको छ । तीन अर्ब नौ करोड २२ लाख बजेट घटेर आउने भएको हो । चालु आर्थिक वर्षमा समानिकरणतर्फ आठ अर्ब ५४ करोड बजेट थियो । अहिले आठ अर्ब १४ करोड ८३ लाख बजेट प्राप्त भएको छ । सशर्ततर्फ आठ अर्ब ७१ करोड बजेट थियो । आगामी आर्थिक वर्षमा पाँच अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ । समपुरकतर्फ ७३ करोड ९० लाख बजेट थियो । आगामी आर्थिक वर्षको लागि ८४ करोड बजेट छ । विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो । आगामी वर्ष ५६ करोड बजेट प्राप्त भएको छ । बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ ।

प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाउनेगरी तयारी गरिएको हो । रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जनाइएको छ । प्रदेश सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम ल्याउँछ । जसरी नीति तथा कार्यक्रम आउँछ, त्यसैमा टेकेर बजेट निर्माण गर्ने र कार्यान्वयनमा ध्यान दिनुपर्ने देखिन्छ ।

बजेट र नीति तथा कार्यक्रम बनाउने व्यस्तता

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी कार्यकक्षमा व्यस्त देखिनुहुन्थ्यो । सरकारको नीति निर्माणदेखि बजेट बनाउने कामले उहाँको व्यस्तता थप बढेको हो । यसपालिको नीति र बजेट प्रदेशका नागरिकले अनुभव गर्नेगरी बनाउने चुनौती थपिएको छ । मुख्यमन्त्री बनेपछि डिल्लीबहादुर चौधरीले ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ पुग्ने घोषणा गर्नुभएको थियो । जसका लागि रोजगारीको अवसर सिर्जना गर्ने प्रमुख योजना सार्वजनिक भएको थियो ।

अहिले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई यही वरिपरी ल्याउने योजना बनाएको छ । समुदायस्तरमा उत्पादन भएका सामग्रीको बजारीकरण र ब्रान्डिङको पनि योजना छ । घरेलु रक्सीदेखि हस्तकलाका सामग्रीको ब्राण्डिङ गर्ने र त्यसबाट नागरिकको जीवनस्तर बढाउने उद्देश्य राखिएको छ । प्रदेश संरचना बनेको पाँच वर्ष पूरा भएर छैठौं वर्षमा लागेको छ । यो अवधिमा प्रदेशको अस्तित्वको बारेमा समेत प्रश्नहरु उठ्न थालेपछि सरकारले प्रदेशको अस्तित्व पुष्टि गर्ने गरी योजना निर्माणमा जुटेको हो । ‘प्रदेशको अस्तित्व पुष्टि गर्ने गरी योजना बनाउ‘ँछौं । हरेक नागरिकसँग प्रदेश सरकार जोडिन्छ’– मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भन्नुभयो– ‘के सत्ता पक्ष, के प्रतिपक्ष लुम्बिनीको समृद्धि र विकास हामी सबैको साझा कार्यक्रम बनाउनुपर्छ ।’

आगामी वर्षको लागि लुम्बिनी प्रदेश सरकारले ल्याउँदै गरेको नीति तथा कार्यक्रममा स्थानीय उत्पादनको ब्राण्डिङ र रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । साथै कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको हो । यही जेठ २५ गते प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । आर्थिक वर्ष ०८०–८१ को नीति तथा कार्यक्रम २५ जेठ बिहीबार प्रदेशसभामा प्रस्तुत हुने भएको छ । दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय भएको छ । यसपालिकाको नीति तथा कार्यक्रममा रोजगारीको अवसर सिर्जना गर्ने, स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्नेलगायतका विषय समेट्न थालिएको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बताउनुभयो । ‘मन्त्रालयहरुबाट सञ्चालन हुने रोजगारी सिर्जनाका कार्यक्रमलाई एकीकृत तथ्यांकमा समेट्छौं । अल्पसंख्यक, जनजाति, महिलाहरुबाट जुन रैथाने सीपहरु छन्, त्यसलाई बजारसँग जोड्ने प्रयास गर्छौं’– डा. केसीले भन्नुभयो– ‘ब्राण्डिङ र मूल्य अभिवृद्धि श्रृंखलासँग जोड्न नीति तथा कार्यक्रममा सुधार गर्छौं ।’

प्रदेश सरकारले कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकास, लगानी प्रबद्र्धन, औद्योगिक विकास र व्यापार सन्तुलनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन थालेको छ । प्रदेशको औचित्य पुष्टि गर्ने गरी हरेक घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकारको अवधारणा सरकारले बनाएको छ । बेरोजगारी प्रमुख समस्या रहेको भन्दै त्यसको अन्त्य गर्नको लागि सरकारले प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउन थालेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो । ‘बहुवर्षीय आयोजनाहरु छन् । जुन आवश्यक छन् । तिनको निरन्तरता हुन्छ । अतिआवश्यक नयाँ हिसावले बनाउनुपर्ने, मर्मत सम्भारमा हाल्नुपर्नेलाई अहिलेको नीति कार्यक्रम तथा योजनामा समेट्छौं’– मन्त्री पाण्डेले भन्नुभयो– ‘पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्नेगरी कार्यक्रम ल्याउँछौं ।’

 

नयाँ युगबोध बाट 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको