Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा वनजन्य उद्यम विकास गर्न समृद्धिका लागि वन परियोजना सुरु

दाङ - दाङको बंगलाचुली गाउँपालिकामा वनजन्य उद्यम विकास गर्न समृद्धिका लागि वन परियोजना सुरु भएको छ । वनजन्य उद्योग विकास तथा प्रवदर्द्धनका लागि परियोजना सुरु भएको हो । वनलाई प्राकृतिक,आरक्षित वा संरक्षित, सामुदायिक, सार्वजनिक, निजी र कृषि वनमा विभाजन गरी यो यरियोजना संचालनमा आएको हो । यही परियोजनालाई सफल पार्नका लागि आज बंगलाचुली गाउँपालिकामा समृद्धिका लागी वन परियोजना वन,वातावरण तथा वन उद्यम सम्बन्धी निर्वाचित जनप्रतिनिधिहरूको लागी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । 

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा बोल्दै अध्यक्ष पुनले गाउँपालिकामा लागुभएको परियोजना बाट पालिकाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले वनउद्यमको माध्यमबाट गाउँपालिकालाई सम्पन्न बनाउन सकिने सम्भावना रहेको हुँदा यस कार्यक्रममा व्यवस्थित तरिकाले अगाडी बढाईने बताउनुभयो । 

यसै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले परियोजना मार्फत प्रतीफल प्राप्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक वर्ष सकिनै लाग्दा परियोजना लागु गरिएको अवस्थामा विनियोजन भएको बजेट फ्रिज हुने अवस्था रहेको भन्दै आगामि दिनमा यस्तो हुन नहुने बताउनुभयो । कार्यक्रममा लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सहायक वैज्ञानिक अधिकृत विष्णु प्रसाद भट्टराईले समृद्धिका लागि वन परियोजनाका वारेमा जानकारी गराउनु भएको थियो ।उहाँले परियोजनाका विविध पक्षका वारेमा जानकारी गराउनुभयो । 

सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, बंगलाचुली गाउँपालिका वडा नम्वर दुईका अध्यक्ष मैते पुनमगर, तिनका अध्यक्ष शोभाराज विश्वकर्मा,चारका अध्यक्ष डाँस बहादुर डाँगी , पाँचका अध्यक्ष डिला बहादुर घर्ती,छ का अध्यक्ष डोम बहादुर केसी,आठका अध्यक्ष झविन्द्र गाहामगर , कार्यपालिकाका सदस्यहरु लगाएतका सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण समृद्धिका लागि वन परियोजनाका फोकल प्रसन एवं पालिकाका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकिले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको