Chauthoanga - Nepali News Media
धरहराको झल्को दिँदै कोहलपुरको भ्यु टावर

बाँके – काठमाण्डाैकाे धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका ११ गोलपार्कमा सुविधा सम्पन्न भ्यु टावर निर्माण भइरहेको छ । 

कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तले सुविधा सम्पन्न यस भ्यु टावरको निर्माण अन्तिम चरणमा पुगेको छ । लिफ्टसहितको सुविधा सम्पन्न यस भ्यु टावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको मेयर लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार भ्यु टावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङ्गरोगन र सजावटको काम बाँकी छ । 

मेयर रावतले दश तलाकाे उचाइसहित निर्माण भएको भ्यु टावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यु टावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिनुभयो । पाँच करोड ८८ लाख रुपैयाँको लागतमा अत्याधुनिक भ्यु टावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताउनुभयो । भ्यु टावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उहाँको भनाइ छ । भ्यु टावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफी शपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ । 

नौ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्यु टावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बालकृष्ण महतराले जानकारी दिनुभयो । भ्यु टावर पुग्न एक पटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उहाँले भ्यु टावरमा दृश्यावलोकनका लागि एक पटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गर्नुभयो । विगतमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण यसको निर्माण कार्य केही प्रभावित भए पनि अहिले उत्साहजनकरूपमा काम भइरहेको उहाँले बताउनुभयो । 

यही माघ २५ गतेसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप ६ महिना म्याद थपको माग भएको छ । भौतिक पूर्वाधार निर्माण काम सम्पन्न भए पनि अन्तिम फिनिशिङ काम सम्पन्न गर्नका लागि म्याद थपको अनुरोध गरेको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताउनुभयो । उहाँले घामपानी केही नभनी निर्माण धमाधम गरे पनि कोभिडका कारण केही प्रभावित भएको उल्लेख गर्नुभयो । निर्माण नसकिँदै भ्यु टावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन् ।

भ्यु टावरले कोहलपुरमा अन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरकार्यपालिका सदस्य एवम् आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘१० तले सुविधा सम्पन्न यस भ्यु टावर सर्वसाधारणका लागि निक्कै आकर्षक हुने विश्वास लिएका छौँ ।’ उहाँका अनुसार नगरपालिकाले सुरु गरेको ठूला आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी धमाधम भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको