Chauthoanga - Nepali News Media
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
opmcm_building_4_Q6voe7PNK1 (1).jpg

काठमाडौं : सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिले जेठ १४ गते बेलुकी सङ्घ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवम् ब्यानर सजाएर दीपावली गर्ने र नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिने समितिका सदस्य सचिव एवम् गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । त्यस दिन हेलिकप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शनसमेत गरिने छ ।

त्यही दिन बेलुकी नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवम् सार्वजनिक स्थलमा दीपावली गर्ने कार्यक्रम तय भएको छ । यस्तै जेठ १६ मा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायले आ–आफ्नो घर, कार्यालय एवम् सार्वजनिक स्थलमा बेलुकी दीपावली गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै विदेशमा रहेकाे नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्ज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवम् सांस्कृतिक विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशमा रहेकेा नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय भएको छ ।

उपत्यकाबाहिरका प्रदेशका राजधानी, जिल्ला र पालिकामा सरकारी कार्यालय/निकाय एवम् प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहराएर १४, १५ र १६ जेठमा बेलुकी दीपावली गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाका संयोजकत्वमा सरकारका मन्त्री, संवैधानिका निकायका प्रमुख, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुखलागयत रहने गरी मूल समारोह समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा गृह सचिव पाण्डे रहनुभएको छ ।

मूल समारोह समितिबाट प्रचार–प्रसार, मञ्च सजावट तथा व्यवस्थापन, ग्राउन्ड कवाज एवम् व्यायाम व्यवस्थापन उपसमिति पनि बनाइएको छ । तत्कालीन संविधान सभाले २०६५ जेठ १५ गते नेपालबाट राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ मा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ ।


 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको