Chauthoanga - Nepali News Media
धर्मभक्त माथेमाको नाममा मानव सेवा आश्रम बनाउँदै काठमाडौं महानगर

काठमाडौं । आज प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन हो । यो दिनको सम्झना गर्दै उनले अमरत्व पाएकै ठाउँमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरिएको छ । 

सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल तथा वडा सदस्यहरू र सीमित कर्मचारी सहभागी भएर शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

कोभिड संक्रमण बढिरहेकोले यस बर्ष सहिद सप्ताहका कार्यक्रमहरु सीमित व्यक्तिहरुका विच आयोजना भइरहेका छन् । 

काठमाडौं महानगरले सहिद माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्दैछ । नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ । 

यस्तै माथेमा जन्मिएको ठाउँ काठमाडौंको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले उनको पूर्ण कदको शालिक प्रतिस्थापन गरेको छ । 

पहिलो पटक २०५३ माघ १३ गते सिफलमा माथेमाको शालिक राखिएको थियो । यो शालिक अहिलेको स्थानभन्दा करीब ५ मिटर पूर्वमा अर्धकदको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि साविकभन्दा पश्चिमतर्फ सारिएको थियो । 

यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यसलाई थप सुधार गरेर महानगरले शालिकसहित त्यस क्षेत्रमा पूर्वाधार विकास गरेको हो । 

माथेमा काजी परिवारको हुनुहुन्थ्यो, उनलाई नपुग्दो केही थिएन । उनी दरबारभित्रैको पहुँचवाला थिए । उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिए । 

विसं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेके बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । विसं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मिएका माथेमालाई तत्कालीन शाशकहरूको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई ज्यानदण्ड दिएका थिए । 

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले विसं. १९९७ साल माघ ६ गते शुक्रराजशास्त्री, धर्मभक्तमाथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । 

निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षक थिए । उनले प्रजातन्त्रका पक्षमा काम गर्न राजालाई प्रजा परिषद्को सदस्यसमेत बनाएका थिए । 


 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको