Chauthoanga - Nepali News Media
विद्यालयमा  शिक्षकले मापसे गरेको भन्दै विधार्थीले गरे नाराबाजी

बारा – बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीले नाराबाजीसहित विरोध गरेका छन्।

जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर–१ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकले रक्सीसहित भोजभतेर गरेको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीले शिक्षकविरुद्ध नाराबाजी गरेका हुन्।

सोमबार विद्यालय आएका विद्यार्थीले विद्यालय परिसरमा मदिराको खाली बोतल फालिएको देखेपछि विद्यार्थीले विरोध गरेका थिए। विद्यालयमा कार्यरत शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रमका अवसरमा आयोजित भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको विद्यार्थीले बताएका छन्।

बिदाई कार्यक्रमको नाममा विद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेर विद्याको मन्दिरलाई शिक्षकले नै अपवित्र पारेको र प्रधानाध्यापक रामप्रकाश चौधरीले नियन्त्रण गर्न नसकेको उनीहरुले आरोप लगाएका छन्।

घटनाको विषयमा विद्यार्थीले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा उनीहरुलाई विद्यालयबाट निष्काशन गरिदिने धम्की दिएपछि विद्यार्थी थप आक्रोशित बनेका छन्।

बिदाई कार्यक्रम सकिएपछि आफूहरु घर गएको र मदिरा सेवन बारेमा केही जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजयकुमार साहले बताउनुभयो ।

शिक्षकहरूले रकम जम्मा गरेर भोजभतेर गरेको जानकारी प्राप्त भएको बताउनुभयो ।उहाँले विद्यालय हाताभित्र गलत क्रियाकलाप भएको पाइएमा त्यस्ता शिक्षकलाई कारबाही गरिने बताउनुभयो । 
तरयस विषयमा प्रधानाध्यापक चौधरीले भने केही बताउन चाहेका छैनन्।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको