Chauthoanga - Nepali News Media
माओबादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित देशभरका जनप्रतिनिधिहरुलाई आज बाट प्रशिक्षण दिदै

काठमाण्डाै:  नेकपा (माओवादी केन्द्र) ले गएकाे वैशाखमा सम्पन्न पालिका सदस्य चुनावबाट निर्वाचित जनप्रतिनिधिलाई पालिकाबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

काठमाण्डौमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट,  कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् ।

पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवम् सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कष्ट काम गरेका पालिकाका प्रमुखले पनि अनुभव आदान–प्रदान गर्ने कार्यक्रम राखिएको छ।

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २ सय ६० जनप्रतिनिधि र पार्टीका शीर्षनेता एवम् पूर्वस्थायी समिति सदस्य सहभागी हुने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

उद्घाटनसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनुहुनेछ । पहिलो दिन पूर्वमहान्याधिवक्ता मुक्ति प्रधान, स्कुल विभाग प्रमुख एवम् पूर्वमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीयता विज्ञ डा. खिमलाल देवकोटा, पालिका विभागका प्रमुख उर्मिला अर्याल र पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ । पालिकाका पदाधिकारी अहिले नीति कार्यक्रम र बजेट निर्माणको तयारीमा छन् । आउँदाे असार १० गतेभित्र पालिकाले आउँदाे आवका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

‘स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’, ‘पालिकामा स्वास्थ्य र शिक्षा’, ‘सङ्घीयता र स्थानीय सरकार’, ‘पालिका र सामाजिक न्याय’, ‘स्थानीय सरकार र सुशासन’, ‘पालिकाको नीति, योजना र कार्यक्रम’, ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, ‘पालिकाको लेखा प्रणाली’, ‘पालिकाको बजेट निर्माण’ र ‘पालिकामा वन, वातावरण र विपद् व्यवस्थापन’लगायत विषयमा प्रशिक्षण दिइने माओवादीले जनाएको छ ।

दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुन, चार्टर्ड अकाउन्टेट चन्द्रकान्त भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, विज्ञान तथा प्रविधि विभागका प्रमुख एवम् पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, प्रविधिविज्ञ सुलभ बुढाथोकी र डा शैलेन्द्र गिरीले प्रशिक्षण दिने माओवादीले जनाएको छ ।

अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक–एक पालिकाका प्रमुखले अनुभव आदान–प्रदान गर्ने कार्यक्रम छ । प्रदेश नं १ को थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, मधेसको वाग्मती नगरपालिकाका मेयर भरत थापा, वाग्मती प्रदेशको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, गण्डकीको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, लुम्बिनीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, कर्णालीको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसी र सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आ–आफ्नो अनुभव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

गएकाे वर्ष सुशासनको क्षेत्रमा सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिका र लुम्बिनी प्रदेशको धुर्कोट गाउँपालिका शीर्ष पाँचभित्र परेका थिए । माओवादीले २०७४ सालको चुनावमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण दिएको थियो । माओवादी पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले हरेक पालिकामा उत्कृष्टता हासिल गरेर जनताको सेवकका रुपमा काम गर्न सकून् भन्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको मुख्यसचिव ढकालको भनाइ छ । 

'माओवादीबाट निर्वाचित जनप्रतिनिधिले अनियमिता गर्न पाइएन, बेरुजु हुनु भएन, सुशासन कायम गर्नुपर्यो, शिक्षा, स्वास्थ्य, रोजगार, उत्पादन र बजारीकरणमा उत्कृष्टता हासिल गर्नुपर्यो', उहाँले भन्नुभयो, 'समाजवादको आधार तयार गर्नमा माओवादीका निर्वाचित प्रतिनिधि देशभर दोस्रो हुनु हुँदैन भन्ने प्रशिक्षणको मुख्य उद्देश्य हो ।'

माओवादीले पार्टीका जनप्रतिनिधिले गरेका काम–कारबाहीको अनुगमन र मूल्याङ्कन समेत गर्ने भएको छ । त्यसका लागि माओवादीले स्पष्ट विधि बनाएको छ । जनप्रतिनिधिले प्रत्येक चार–चार महिनामा प्रगति समीक्षासहितको प्रतिवेदन पार्टीमा पेस गर्नुपर्ने छ । 'लक्ष्य के थिए, उपलब्धि कति भए, निर्धारित उपलब्धि प्राप्त गर्न नसक्नुका कारण के हुन्, चुनौतीको समाधान गर्ने सुझाव के हुन् भन्ने विषयसहितको प्रतिवेदन पार्टीमा बुझाउनुपर्छ', उहाँले भन्नुभयो । 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको