Chauthoanga - Nepali News Media
संसदीय निर्वाचन गर्न सत्ता गठबन्धनमा छलफल सुरु,कात्तिक २७ वा मंसिर ४ मा गर्न गठबन्धनको प्रस्ताव
फाईल तस्विर

काठमाडौँ  : संसदीय निर्वाचनबारे सत्तारुढ पाँचदलीय गठबन्धनबीच छलफल सुरु भएको छ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय निर्वाचनको मितिबारे छलफल भएको हो।

स्थानीय तह निर्वाचन सम्पन्न भएपछि पहिलोपटक बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय निर्वाचनबारे अनौपचारिक छलफल भएको एक नेताले पुष्टि गर्नुभएकोछ। उहाँका अनुसार बैठकमा संसदीय निर्वाचनका लागि आगामी कात्तिक २७ वा मंसिर ४ को मितिबारे छलफल गरिएको समेत बताउनुभयो ।

‘संसदीय चुनावका लागि कात्तिक २७ वा मंसिर ४ को मिति नै प्रस्ताव भइसकेको र गठबन्धनमा यसबारे अनौपचारिक छलफल भइरहेको उहाँको भानाई छ।

यसअघि २०७४ मंसिरमा संसदीय निर्वाचन सम्पन्न भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो। प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो ।

निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम ढिलो दिएका कारण सांसदहरूले फागुन २० गतेदेखि कार्य प्रारम्भ गरेका थिए। मंसिरमा निर्वाचन भए पनि सांसदहरुले फागुनमा सपथ खाएर कार्य प्रारम्भ गरेका कारण प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्नेमा अन्योल छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव भएकै मितिमा कार्यकाल सकिने अन्तर्राष्ट्रिय अभ्यास रहेको स्मरण गराएको बालुवाटार बैठकमा सहभागी एक नेताले दिनुभयो। संविधानको धारा ८५ (१) मा अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ।  उपधारा २ मा ‘उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि संकटकालीन अवस्थाको घोषणा वा आदेश लागु रहेको अवस्थामा संघीय ऐन बमोजिम प्रतिनिधिसभाको कार्यकालमा नबढ्ने गरी थप गर्न सकिने उल्लेख छ।’

उपधारा ३ मा उपधारा २ बमोजिम थप गरिएको प्रतिनिधिसभाको कार्यकाल संकटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले ६ महिना पछि स्वतः समाप्त हुने उल्लेख छ।अहिले संकटकालको अवस्था नभएकाले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षमा पूरा हुनेछ।प्रतिनिधिसभाको कार्यकाल पूरा हुन ६ महिना बाँकी रहँदासम्म चुनावको मिति घोषणा गर्न संवैधानिक जटिलता हुने संविधानका जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको