Chauthoanga - Nepali News Media
कमल थापाले छोड्दैमा राप्रपालाई केही फरक पर्दैन : राजेन्द्र लिङ्देन
1644411839_Rajendra-Lingden.jpg

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताएका छन्। 

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन्।

राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको विश्वास छ। ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन’, लिङ्देनले भने,  ‘हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडि बढ्छौँ।’

उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आह्वान गरे। पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले राप्रपाको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे।

‘हामीले सबै साथीहरुलाई आह्वान पनि गरेका छौँ। र, मलाई के विश्वास छ भने पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरु गर्नु हुने छैन’, उनले थपे, ‘ अहिले भूमिकाविहीन रहेका केही साथीहरुले यसप्रकारको निर्णय गरेको सुन्नमा आएको छ। यो घटनाबाट कसैले पनि विचलित हुनुपर्दैन।’

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गरे। थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको भन्दै लिङ्देनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १९:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको