Chauthoanga - Nepali News Media
अमेरिकाले खसी देखाएर फर्सी भिडाउन खोजेको छ : चित्रबहादुर केसी
1591191429.jpg

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन्। 

बुधबार माइतीघर मण्डलमा राष्ट्रिय जनमोर्चा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा अध्यक्ष केसीले यस्तो बताएका हुन्।

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए।

उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप पनि लगाए। अध्यक्ष केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको टिप्पणी गरे।

केसीले अहिलेको सत्ता गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको दाबी गरे।

उनले गठबन्धनआवद्ध नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पारे।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १९:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको