Chauthoanga - Nepali News Media
विश्व कप क्रिकेट लिग–२ : नेपाल र अमेरिका खेल्दै

 काठमाडौंः अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् तर फरक नतिजा निकालेका थिए । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिकाले भने पहिलो खेलमा ओमानमाथि फराकिलो जित निकालेको थियो ।


अमेरिका पहिलो खेलको लयलाई कायम राख्ने लक्ष्यमा रहँदा नेपालमा भने जितको खोजीमा हुनेछ । अमेरिकाले पहिलो खेलमा ओमानविरुद्ध तीन सय भन्दा बढी रन बनाएर ११४ रनको जित निकालेको थियो । नेपालले भने ब्याटिङमा सम्हालिन नसक्दा ओमानले दिएको २१२ रनको लक्ष्यसमेत पूरा गर्न सकेन ।

अमेरिकाविरुद्ध खेल्दा नेपालले ओपनिङदेखि नै ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता छ । नियमित ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेल अमेरिकामा अभ्यासका क्रममा घाइते भएपछि सुनिल धमला र ब्याटअफका रुपमा अमेरिका पुगेका सुबास खकुरेलले ओमानविरुद्ध ओपनिङ गरेका थिए । तर यो जोडीले राम्रो सुरुवात गर्न सकेन ।

आसिफ र कुशल अमेरिकाविरुद्ध खेल्ने/नखेल्ने टुङ्गो लागिसकेको छैन । त्यसैले ब्याटिङ नै नेपालको लागि टाउको दुखाइ बनेको छ । आरिफ शेखले ६६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनलायक ब्याटिङ गर्न सकेका थिए ।

यस शृंखलामा नेपालले पहिलो जित निकाल्न ब्याटिङमा धेरै सुधार आवश्यक छ ।

लिग टु मा नेपाल र अमेरिका खेल्न लागेको यो तेस्रो शृंखला हो । यसअघि यी दुई टोलीले लिग २ मै चार खेल खेलिसकेका छन् । जसमा नेपाल अघि छ । नेपालले ३ खेल जित्दा अमेरिकाले १ खेल जितेको छ ।

नेपाल लिग टू अन्तर्गत नै पछिल्लो शृंखलामा अमेरिकासँग २०२१ सेप्टेम्बरमा ओमानमा खेलेको पछिल्लो खेलमा ६ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिका ३० ओभरभित्र पूरा गर्दा स्टेभेन टेलरले ९२ र मोनाक पटेलले अविजित ३८ रन बनाएका थिए । त्यस खेल खेलेका कुशल र आसिफसहित ९ खेलाडी अहिले पनि अमेरिका गएको नेपाली टिममा छन् ।

त्यसअघि सन् २०२० मा नेपालमै भएको शृंखलामा भने नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दै कीर्तिमानसमेत बनाएको थियो । एक दिवसीय अन्तर्राष्ट्रिय कुनै पनि टिमले बनाएको यो संयुक्त रुपमा सबैभन्दा कम स्कोर थियो ।
 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको