
काठमाडौं - पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापरबाही, लेन मिच्नेलगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । यसबाट स्वयं चालक तथा यात्रुको ज्यान जाने गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मापसे र लापसे (लागुपदार्थ सेवन) सवारी दुर्घटनाको कारण बनिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पाँच महिनाको तथ्याङ्कमा मापसे गरेर सवारीसाधन चलाएका चालकका कारण ६२१ वटा दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ४७ जनाको ज्यान गएको छ भने ८०७ जना घाइते भएका छन् ।
यसरी हुने दुर्घटना सङ्घीय राजधानी काठमाडौं उपत्यकामै सबैभन्दा बढी हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा उपत्यकामा चालकले मापसे गरेर सवारीसाधन चलाएका ३७७ वटा गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु र ३८९ घाइते भएका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा ४३ दुर्घटना हुँदा १० को मृत्यु र ७० जना घाइते भएका छन् ।यस्तै, कोशी प्रदेशमा यस्ता २८ वटा दुर्घटनामा सात जनाको मृत्यु र ५० घाइते भएका छन् । मधेश प्रदेशमा ८२ दुर्घटना हुँदा एकको मृत्यु, १५४ जना घाइते, बागमती प्रदेशमा २८ दुर्घटनामा तीनको मृत्यु ४४ घाइते, गण्डकी प्रदेशमा २३ दुर्घटना हुँदा तीनको मृत्यु र ३६ जना घाइते भएका छन् ।
कर्णालीमा १२ दुर्घटना हुँदा १४ जना घाइते र सुदूरपश्चिम प्रदेशमा २८ दुर्घटना हुँदा सातको मृत्यु र ५० जना घाइते भएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलगायत देशभर नै मापसेविरुद्ध जाँच र कारबाही अभियान जारी रहेको छ तर कतिपय अवस्थामा सार्वजनिक सवारीसाधनका साथै एम्बुलेन्स र स्कूल बसका चालकले समेत मापसे तथा लापसे गरेर सवारी चलाएका भेटिएका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।