Chauthoanga
बजारिया वस्तु होइन प्रेम
wwwww.png

प्रेम आफैंमा गहन र जटिल विषय हो । प्रेमका सम्बन्धमा संसारभर विविध विचार र चिन्तन उपलब्ध छन् । अहिंसावादी विचार र ज्ञान प्रवाह गरेर मानव जातिमै पृथक प्रभाव छोडेका गौतम बुद्धले भनेका छन्, ‘अन्तत: केवल तीन कुराले महत्त्व राख्छन्– कति माया गर्‍यौ, कति विनम्र भइ जीवन बाँच्यौ र तिम्रो लागि नभएका कुराहरुप्रति कसरी अनुगृहित रहेर ज्ञान दियौ ।’ दलाइ लामाको भनाइ छ, ‘हिजो र भोलि, वर्षमा केवल यी दुई दिन केही गर्न सकिन्न ।

माया, विश्वास, कर्म र जिउनका लागि आज नै सबैभन्दा उपयुक्त दिन हो ।’ प्रेमलाई हृदयको सक्कली रुप मान्ने विलियम शेक्सपियरले लेखेका छन्, ‘मलाई माया गर या घृणा, दुवै मेरा पक्षमा छन् । तिमीले माया गर्‍यौ भने म सधैं तिम्रो हृदयमा हुनेछु र तिमीले घृणा गर्‍यौ भन म सधैं तिम्रो दिमागमा ।’ प्रेम कति विराट र व्यापक छ, यी भनाइबाट प्रस्ट हुन्छ ।


जीवन नबुझी प्रेमको महत्त्व बुझ्न सकिन्न । इज्जत, सद्भाव, विश्वास र समर्पणको अभावमा प्रेम देखावटी हुन्छ । प्रेम झाँगियोस् भन्नका लागि हृदयको आँगन उज्यालो हुनुपर्छ । प्रेमिल हृदयले अपराधको कल्पना गर्न सक्दैन । स्वार्थ, शारीरिक सुखभोग र भौतिकताको दास बनेर गरिने प्रेम केवल अभिनय हुन्छ । शारीरिक एवम् जैविक इच्छाको समाधानका निम्ति मानव समाजमा प्रचलित प्रेम त्यो प्यास मेट्ने क्रियाकलाप मात्र हो । सन्तानेच्छा प्रेम हो ? प्रेम बजारको खरिदयोग्य सामग्री हो ? मानव जातिले स्विकारेको र भोगिरहेको प्रेमका विषयमा अब सोच्न जरुरी छ ।

प्रेम विशिष्ट र अद्भूत विषय हो । शारीरिक सन्तुष्टिलाई प्रेमको परिधिभित्र राख्न खोज्नु भ्रम हो । मिलन जीवनको सामान्य पाटो होला तर पूर्णता हुनै सक्दैन । ओशोले प्रेममा प्राप्तिको अंश नरहने बताएका छन् ।

प्रेम हावा जस्तै हुन्छ, जसलाई अनुभूति गर्न त सकिन्छ तर देख्न सकिँदैन । हावाबिना प्राणी र वनस्पतिको सम्भावना नरहे जस्तै प्रेमबिना पनि जीवन अपूर्ण हुन्छ । एकअर्कामा समर्पित, हार्दिकतापूर्वक स्विकारिएको सम्बन्ध नै प्रेम हो । दु:खमा हात थाप्नु र सुखमा हृदय लगाउनु प्रेम हो । घामको झुल्को प्रेम हो । मनमा मन मिसिन सके प्रेम जीवन्त बन्छ । प्रेम फैलाउन जाने संसार आफ्नो हुन्छ । समर्पण, श्रद्धा र विश्वासमा प्रेम एकाकार हुन्छ । नि:स्वार्थताको उचाइमा र समर्पणको गहिराइमा प्रेम ढकमक्क फूल्छ ।


स्वार्थमा आधारित प्रेममा कृत्रिमता ज्यादा हुन्छ । समझदारीका नाममा प्रेम ध्वस्त हुने गर्छ । स्वतन्त्रतापूर्वक र हार्दिकतापूर्वक प्रेम प्रकट गर्न पाउने वातावरण नबनेका कारण समाजमा विभिन्न खाले अपराध हुने गरेको छ । अपत्यारिला र डरलाग्दा घटनाले समाजलाई दुखित बनाउनुको कारण हृदयदेखिको प्रेम साटासाट गर्ने वातावरण नहुनु नै हो । कतिपय समाजमा माया र चाहनालाई प्रेम ठान्नेहरुबाट प्रेमको हत्या गरिएको छ । स्वच्छन्द हृदयले विश्वासको साथ प्रकट गरिने प्रेममा बाधा पुर्‍याउनु हुँदैन । बाध्यता, समझदारी र स्वार्थमा अडेको प्रेमले हार्दिक प्रेमलाई निमोठेको छ । यान्त्रिक र कृत्रिम प्रेमका कारण भावनात्मक प्रेमको विनाश भएको छ ।

स्वार्थको आँखाबाट गरिने प्रेम छिट्टै धोकामा परिणत हुने गर्छ । अविश्वास, स्वार्थ र घृणाको परिधि नाघेर समर्पण र श्रद्धामा विकसित हुने प्रेम विशालतामा अडेको हुन्छ । प्रेम असाधारण विषय हो । प्रेमलाई कुनै वाद, धर्म, जाति, भूगोलको सीमामा नबाँधी सर्वव्यापी बनाउनुपर्छ ।

प्रेमलाई बजारिया वस्तुसँग तुलना गरिनु हुन्न । ‘गाई नपाले पनि दूध खान पाइन्छ’ भन्ने मानसिकताको अन्त्य आवश्यक छ । अचेल प्रेम गर्न जान्ने हृदयको अभाव छ । स्वार्थ, प्रभाव, दबाब र भौतिक सुखसँग जोडेर गरिएको प्रेमले समस्या निम्त्याउँछ । भौतिकतामा गाँसिएको प्रेमले आत्मसन्तुष्टि दिन सक्दैन । हृदयको गहिराइबाट उत्कर्षमा पुगेको प्रेम मात्रै जीवन्त हुन्छ । प्रेमको वास्तविकतामाथि ठूलो प्रश्न उठाएको यो समयलाई प्रेम अद्भूत, अलौकिक र अन्तरङ्गको अनुभूति हो भन्ने बुझाउन आवश्यक छ । प्रेमलाई क्षणिक आवेग समाधान गर्ने माध्यम नठानौं । प्रेम आत्माको विशिष्ट रुप हो भन्ने सत्य बुझौं ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको