Chauthoanga - Nepali News Media
पेट्रोलमा २० र डिजलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा

काठमाण्डाैः सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूका अनुसार डिजलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ ।

कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६३ पर्नेछ । यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजल र मट्टीतेलमा समान २७/२७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको