Chauthoanga - Nepali News Media
 लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम दाङमा प्रभावकारी बन्दै

दाङ : लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम दाङमा प्रभावकारी बन्दै गएको छ ।७० वर्ष उमेर पुगेका सबैलाई यो कार्यक्रमले समेटेपछि उनीहरुले आफ्नै घरमा स्वास्थ्य परिक्षण सेवा पाएका छन । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष देखी ७० वर्ष माथिकालाई घर घरमै पुगेर सेवा दिने गरि ज्येष्ठनागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम बिस्तार गरेको हो । ज्येष्ठ नागरिकको सामान्य स्वास्थ्य अबस्थाको जाँच,  उनीहरुले खाँदै आएको औषधिको परिक्षण तथा नि:शुल्क प्रदान गरिने औषधि वितरण लगायतका सेवा स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै पुगेर दिदै आएका छन् । 

घोराही उपमहानगरपालिका वडा नं १७ पनौराका ८६ वर्षिय फनाधर रिजालले आफूले घरमै स्वास्थ्य सेवा पाएपछि खुशी लागेको बताउनुभयो । “स्वास्थ्यकर्मी आउनु भो, मेरा स्वास्थ्यका बारेमा सोधपुछ गर्नुभो”—रिजालले भन्नुभयो—“हो यस्तै गर्ने हो भने हामी बुढाबुढीलाई पनि खुशी लाग्छ ।”

चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म दाङका  ५ हजार ५ सय २३ जना ७० वर्ष वर्ष पार गरेका ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाएका छन । सुरुका वर्षमा ८४ वर्ष उमेर पुगेका लक्षित जनसँख्या निकै कम भएकाले त्यती प्रभावकारी नदेखिए पनि अहिले भने ७० वर्ष माथिका धेरै भएकाले प्रभावकारी देखिएको छ ।

लुम्बिनी प्रदेश सरकार गठनसँगै सुरु भएको ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने काम दाङमा प्रभावकारी बन्दै गएको छ । विशेषगरि चालु आर्थिक वर्षदेखी ७० वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकलाई नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रममा समेटेपछि यस कार्यक्रमबाट सेवा पाउनेहरु बढेका हुन् । अघिल्ला वर्ष सम्म जिल्लाका लागी विनियोजन गरेको बजेट खर्च नभएर न्यून प्रगती देखिदै आएकोमा यस वर्ष भने छुट्टाइएको बजेट नै अपुग हुने भएको छ ।

चालु आर्थिक वर्षका लागि दाङमा ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमका लागी २५ लाख रुपियाँ आएकोमा दोश्रो चौमासिक सम्म २१ लाख रुपियाँ भन्दा बढि खर्च भैसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङका ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमका फोकल पर्सन खिमेन्द्रकुमार शाक्यले जानकारी दिनुभयो । 

“सरकारले ७० वर्षमाथिका सबैलाई उपचार सेवा दिने भनेपछि सेवा कार्यक्रम अझ प्रभावकारी भएको छ”—शाक्यले भन्नुभयो— “यसलाई अझ प्रभावकारी बनाएर लैजान जरुरी छ ।”

घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले दुई पटक गरी स्वास्थ्य जाँच गर्ने सामग्री प्रदान गरेको छ भने जिल्ला स्वास्थ्य कार्यालयले पनि सामग्री खरिद गरी स्वास्थ्यकर्मीहरुलाई दिएको छ । स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच सँगै उनीहरुले सेवन गर्दै आएको औषधिको मात्रा, खाने समय तालिका लगायतका जाँच गरी सरकारले नि:शुल्क भनेका औषधि पनि आवश्यक मात्रामा दिने गरेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

सुरुका वर्षमा ८४ वर्ष उमेर पुगेका लक्षित जनसङ्ख्या निकै कम भएकाले त्यति प्रभावकारी नदेखिए पनि अहिले भने ७० वर्षमाथिका धेरै भएकाले प्रभावकारी देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु बताउँछन् । यो कार्यक्रमले हिँडडुल गर्न नसक्ने र कम आयश्रोत भएकाहरुलाई निकै सहजता बनाइएको स्थानीयहरु बताउँछन् । घरमा पुगेर ज्येष्ठ नागरिकको समस्या पहिचान गरी उपचारको सल्लाहसमेत उनीहरुलाई आवश्यक पर्ने औषधि नि:शुल्क घरमै वितरण गर्ने गरिएको स्वास्थ्य जाँच गर्दै आएका स्वास्थ्यकर्मी युवराज धिताल बताउनुभयो । 

यो कार्यक्रमले हिँडडुल गर्न नसक्ने र कम आयश्रोत भएकाहरुलाई निकै सहज बनाएको स्थानीय बताउँछन् । घरमा पुगेर ज्येष्ठ नागरिकको समस्या पहिचान गरी उपचारको सल्लाह र उनीहरुलाई आवश्यक पर्ने औषधि नि:शुल्क दिने  गरिएको ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आउनु भ्रएका स्वास्थ्यकर्मी युगराज धिताल बताउनुहुन्छ । “जो हिँडेर स्वास्थ्य चौकीसम्म आउन सक्नुहुन्न उहाँहरुलाई निकै सजिलाे भएको छ”—धितालले भन्नुभयो—“नियमित स्वास्थ्य परिक्षणसँगै उहाँहरुले खाँदै आउनु भएका औषधि नटुट्ने गरी व्यवस्थापन गर्न जरुरी छ ।”
ज्येष्ठ नागरिकसँग घरदैलो कार्यक्रमले विभिन्न कारणले स्वास्थ्य संस्था पुगेर स्वास्थ्य परीक्षण गर्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई निकै सहयोग पुर्याएको नागरिक समाजका अगुवाहरु बताउछन् ।

कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकका घरमै पुगेर औषधि उपचार गर्ने स्वास्थ्यकर्मीलाई घोराही उपमहानगरपालिकामा एक पटकको २ सय ५० र गाउँपालिकामा ३ सय ५० रुपैया प्रोत्साहन बापत यातायात खर्चका रुपमा दिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको