Chauthoanga - Nepali News Media
लुम्विनी प्रदेशका राज्य मन्त्रि विमला वली विवादको छानबिन गर्न गठित टोलीको प्रतिवेदन : एकराजले पैसा फिर्ता नगरेकाले घटना भएको निष्कर्ष

लुम्बीनी : लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली विवादको छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी छानबिन टोलीले आफ्नो प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज बुझाएको हो ।

छानबिन समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलक राम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले बुझाएको प्रतिवदनमा विमला र एकराज बीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको जनाइएको छ । एउटै राजनीति दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको देखिएको जनाएको छ ।

प्रतिवेदनमा राज्यमन्त्रीजस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु कमजोरी भएको उल्लेख छ । रकम असुली गर्नको लागि घरमै भन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको उल्लेख छ । विमला र एकराज बस्नेतबीच ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको बताइएको छ । घटनामा विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गर्दे सरकाले कडा रूपमा सचेत बनाउनु पर्ने राय दिएको छ ।

सँगै प्रतिवेदनमा एकराज पक्षले पनि योजनाबद्ध रूपमा स्थानीयहरू बोलाउने र मिडिया पहिले नै खबर गरेर बसेको जस्तो देखिएको शंकास्कापद रहेकोले थप छानबिन गर्नुपर्ने उल्लेख छ । एकराजले फोनमा घरै छु भनेपछि मन्त्री पुगेको तर नभेटिएपछि आवेगमा आएको प्रतिवेदनमा भनिएको छ ।

तत्कालीन राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित एकराज बस्नेतको घरमा पुगेर ववाद गरेको आरोप लागेको छ। उक्त घटनामा एकराज बस्नेतकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिवेदन अध्ययन गरेर सरकार अगाडि बढ्ने प्रतिकृया दिनुभएको छ ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको