Chauthoanga - Nepali News Media

ढाका, : बङ्गलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।     

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका ६४वटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ ।     

अधिकारीहरुले दिएको समाचारमा गएको मे १७ देखि जुन २८ सम्म बङ्गलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो ।     

यहाँका कतिपय जिल्लामा पछिल्ला दिनहरुमा बाढीको प्रकोप जारी छ । यहाँ बाढीले ल्याएका सर्पले टोकेर, चट्याङ परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ ।     

बङ्गलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो सङ्ख्याका मानिसहरु विस्थापित भएका बताइएको छ । बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो सङ्ख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ ।     

अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ । यसका कारण मानिसहरुलाई कैयौँ जिल्लामा आवत जावत गर्न पनि कठिन भएको पाइएको छ ।     

त्यस्तै बिजुली र खानेपानीका संरचना पनि बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।     यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताउनुभएको छ ।     

उहाँले यस्तो आपतका समयमा सहयोग गर्न सबै नागरिकलाई आग्रह पनि गर्नुभएको छ । बङ्गलादशेका उत्तरी र उत्तरपूर्वी क्षेत्रका कैयौँ जिल्लामा बाढी आएको हो ।     

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको