Chauthoanga - Nepali News Media
ध्यान केन्द्रमा बुद्धका आँखा

भैरहवा : लुम्बिनीमा निर्माण भएको ध्यानकेन्द्रमा बुद्धको आँखाको झल्को आउने गरी आँखाको चित्र निर्माण गरिएको छ । ध्यानकेन्द्रको छानामा बुद्धको आँखाको चित्र कोरिएको लुम्बिनी विकास कोषले जनाएको हो ।

हेलिकप्टर र प्लाराग्लाइटिङमार्फत लुम्बिनी अवलोकन गर्न चाहने पर्यटकले उक्त आँखा अवलोकन गर्नसक्ने छन् । झन्डै रु ७२ करोडको लागतमा निर्माण हुँदै गरेको यो ध्यानकेन्द्रमा दुई हजार ५०० स्क्वार फुटको ठूलो बुद्धको शान्तिको प्रतिक आँखा निर्माण गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

दक्षिण एसियाकै नमूना ध्यानकेन्द्रको रुपमा रहेको यो ध्यानकेन्द्रमा निर्माण गरिएको आँखा संसारकै ठूलो भएको बौद्ध धर्मालम्बीले जिकिर गरेका छन् । पाँच हजार जनाको क्षमता रहेको सो ध्यानकेन्द्रको छानामा बुद्धका आँखा निर्माणसँगै पर्यटकको आर्कषण बढने पर्यटन व्यवसायीको अपेक्षा रहेको छ । आधुनिक र प्रविधिमैत्री यो ध्यानकेन्द्र लुम्बिनी प्रदेशको आकर्षणको केन्द्र भएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजराज भट्टराईले बताउनुभयो । बुद्धकालीन कला, संस्कृति र बुद्ध झल्किने आकृतिको वास्तुकलामा निर्माण गरिएको बुद्धका आँखाले शान्तिको प्रतिकको सङ्केत गर्ने उहाँको भनाइ थियो । ध्यानकेन्द्रको आर्कषणको रुपमा रहेको बुद्धका आँखाले बुद्ध दर्शनको विकासमा समेत सहयोग पुग्ने वास्तुकला विदहरुले बताए ।

ध्यानकेन्द्रको क्षेत्रफल ३८६ दशमलव ८८ वर्गमिटर रहेको छ । अन्तर्रािष्ट्रय बौद्ध सम्मेलन तथा ध्यानका लागि यो कक्ष निर्माण भएपछि उपयोगी हुने कोषले जनाएको छ । साना र ठूला गरी ५५ वटा ढोका हुने ध्यानकेन्द्रमा बाहिरी भागमा हेलिप्याडसमेत निर्माण गरिएको छ । ध्यानकेन्द्रको निर्माणसँगै यसको वरिपरिको सौन्दर्य, अतिथि भवन, पार्किङ, शौचालय, पानीको फोहरा, मूलद्वार निर्माण गरिएका छन् ।

सडकदेखि प्रवेशद्वार र वृक्षरोपणका कामलाई निरन्तरता दिएको कोषले अवको केही वर्षमा बास्तुकलाविद् केञ्जो टाङगेले तयार गरेको गुरुयोजना पूरा गर्ने चरणमा रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनी, राजदरबार तिलौराकोट, मावली, देवदह र अस्तुधातु भएको रामग्रामको विकासमा पनि उक्त कोषले थप सोच्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए ।

गौतमबुद्ध विमानस्थलमा विज एयर आउने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विज एयरले अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । आउँदो सेप्टेम्बरदेखि उक्त एयरले उडान भर्ने तयारी गरेको हो । हालसम्म कुवेतको जजिरा एयरलाइन्सले मात्र व्यावसायिक उडान भरिरहेको यो विमानस्थलबाट विजले पनि उडान भर्न लागेकोे हो ।

जजिराले सोमबार, बुधबार शनिबार उडान गर्दै आएको छ । जजिरासँगै अव यस विमानस्थलबाट उडान गर्नका लागि विज एयरले पनि सुरु गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

उक्त विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले भन्नुभयो, हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको ‘अल्ट्रा लो कस्ट एस वायुसेवा’को विज एयरले भैरहवाबाट यूएईको अबुधाबीसम्म उडान भर्ने तयारी गरिरहेको छ । भैरहवाबाट विज एयरले एयरबस ३२१ निओ सिरिजको जहाजमाफर्त् उडान सञ्चालन गर्ने योजना बनाएको छ । विजले १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलो पटक उडान गर्न लागेको हो ।

जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको जनाइएको छ । गत जेठ २ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आएको उक्त विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी इच्छुक देखिएका छन् ।

वायुसेवाका नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको