Chauthoanga - Nepali News Media
एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाण्डाैः आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो ।

स्कटल्यान्डमा नेपालले घरेलु टोली र नामिबियासँग दुई/दुई खेल खेलेको थियो । चार खेलमा नेपाल तीनमा पराजित हुँदा एउटा मात्रै खेल जितेको थियो । नेपालले घरेलु टोली स्कटल्यान्डलाई एउटा खेलमा हराएको थियो । नेपाल २० खेलमा १७ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

यो तालिकामा ओमान ३६ खेलमा ४४ अङ्कसहित शीर्ष स्थानमा छ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

शीर्ष ३ मा पर्ने नेपालको सम्भावना झिनो हुँदै गएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको