Chauthoanga - Nepali News Media
कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत :धेरैजसोमा ओमिक्रोनको उपप्रजाति बीए टू र बीए वान र बीए फाइभ पुष्टि

काठमाण्डाैः नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाे छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञले चेतावनी दिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताउनुभयो । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये झन्डै १० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो देशभरका ल्याबमा ४ हजार ६ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । भर्ना भएका बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघा लाग्ने, थकित, पसिना आउनेजस्ता लक्षण देखिएको छ । गएको असार १ गते परीक्षण गरिएकामध्ये ० दशमलव ६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । एक महिनामा सक्रिय सङ्क्रमित १ हजार ७ सय ७६ पुगेको छ, यसमध्ये काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै १ हजार १ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । धेरैजसोमा अहिले ओमिक्रोनको उपप्रजाति बीए टू र अन्यमा बीए वान र बीए फाइभ पुष्टि भएको छ। 

 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको