Chauthoanga - Nepali News Media
युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाको दाबी
im-499212_FIoh0AM1Ye.jpg

रुसले युक्रेनमाथि आक्रमणका लागि सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो । रुसले युक्रेनसँगको लडाइका लागि भर्ती हुने लडाकुलाई २ सयदेखि ३ सय डलरसम्म तलब दिने तयारी गरिएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् ।

सिरियामा चलेको गृहयुद्धका कारण उनीहरुलाई युद्धबारे जानकारी हुने र युद्धमा लड्ने अनुभव भएको भन्दै उनीहरुलाई भर्ती गर्न लागिएको खबरमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको आक्रमण नरोक्ने बताउनुभएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले लडाइँ छोडेर युक्रेनले आफ्नो आग्रहलाई माने मात्रै युद्ध रोकिने बताउनु भएको छ ।

यसैबीच, १२ दिनदेखिको आक्रमणका कारण युक्रेनमा मानवीय सङ्कट गहिरिँदै गएको छ । त्यहाँका नागरिकलाई हातमुख जोड्न नै समस्या भएको बीबीसीले जनाएको छ । रुसले युक्रेनका नागरिकलाई समेत लक्षित गरी आक्रमण गरिरहेको छ ।

इर्पिन नगरबाट सुरक्षित ठाउँमा भाग्न लागेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्ता आक्रमणको कहिल्यै क्षमा नदिने बताउनु भएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको