Chauthoanga - Nepali News Media
नेपालमा बाघको संख्या ३५५ पुग्यो

काठमाण्डाै : नेपालमा बाघको सङ्ख्या बढेको छ । सन् २०१८ मा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको छ । पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन् ।

अन्तर्राष्ट्रिय बाघ दिवसकाे अवसर पारेर काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको सङ्ख्या ३ सय ५५ पुगेको जानकारी दिनुभएको हो । तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ बाघ छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४०, शुक्लाफाँटा राष्ट्रिय  निकुञ्जमा ३८ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो पटक नेपालमा गएको मंसिरदेखि फागुनसम्म बाघ गणना भएको थियो । सन् २००९ मा भएको गणना अनुसार नेपालमा बाघको सङ्ख्या १ सय २१ थियो ।

सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ भित्र नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । तर यसअवधिमा बाघको सङ्ख्या दोब्बरभन्दा पनि धेरैले बढेको छ ।

बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ तारिखलाई बाघ दिवसका रुपमा मनाइन्छ ।

दिवसका अवसरमा बाघसँगै यसको बासस्थान र आहाराको संरक्षण दिइएको छ । आहारा र बासस्थानको कमीका कारण निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षति बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको