Chauthoanga - Nepali News Media
दाङमा २९ हजार ८ सय ७४ युनिट रगत खपत

दाङः २० वर्षको अवधिमा दाङमा ३० हजार ३ सय ६० युनिट रगत संकलन भएको छ भने २९ हजार ८ सय ७४ युनिट रगत वितरण भएको छ ।

रक्त सञ्चार केन्द्र घोराहीका अनुसार २०५९ सालदेखि २०७९ असार मसान्तसम्ममा त्यो मात्रामा रगत संकलन भएको हो । जिल्ला पहिलोपटक सदरमुकाम घोराहीबाट व्यवस्थितरुपमा रगत संकलन तथा वितरणको काम सुरुवात भएको थियो ।

आजभोलि जिल्लाको घोराही, तुलसीपुर र लमहीबाट रगत संकलनको काम हुने गरेकोछ । पहिलेभन्दा रक्तदाताहरुको संख्या बृद्धि भए पनि अझै पनि सहज रुपमा रगत प्राप्त गर्न सक्ने वातावरण भने भएको छैन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका नागरिकलाई निःशुल्क रगतको व्यवस्था गरेको छ । उपमहानगरपालिको चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममा निःशुल्क रगतको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

त्यो अनुसार रक्त सञ्चार केन्द्र घोराहीसँग सम्झौताको काम शुरु भएको छ । घोराही र तुलसीपुरमा पहिलेबाट नै संकलन गरिँदै आएको पनि लमही अघिल्लो वर्षदेखि सुरु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा ५ हजार २ युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलिप न्यौपानेले बताए । ५ हजार ५२ युनिट रगत वितरण गरिएको थियो । घोराहीमा २ हजार ६ सय ७० युनिट संकलन भएको थियो भने २ हजार ७ सय ७५ युनिट वितरण भएको थियो ।

तुलसीपुरमा १ हजार ३ सय ४५ युनिट संकलन भएकोमा १ हजार २ सय १३ वितरण गरिएको थियो भने लमहीमा ९ सय ७ युनिट संकलन गरिएको र १ हजार ६४ युनिट वितरण गरिएको थियो । सबैभन्दा बढी बि पोजेटिभ रगत संकलन भएको उनको भनाइ छ । आर्थिक वर्ष २०७७÷०७ मा जिल्लामा २ हजार ५ सय ४६ युनिट संकलन गरिएको थियो भने २ हजार ५ सय ६१ युनिट वितरण गरिएको इञ्चार्ज न्यौपानेले बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷०७७ मा २ हजार २ सय ५१ युनिट रगत संकलन भएको थियो भने २ हजार ३ सय १ वितरण गरिएको थियो । अहिले रक्तदाताहरु संघसंस्थाहरुमार्फत खोजी गरिने गरेको छ । संघसंस्थामार्फत अगाडि बढ्दा धेरैलाई समेटिने भएकाले संघसंस्था प्राथमिकता दिने गरेको इञ्चार्ज न्यौपानेले बताए । पहिलेभन्दा रक्तदाताहरुको संख्या बृद्धि भए पनि अझै पनि सहजरुपमा रगत प्राप्त गर्न सक्ने अवस्था भने भएको छैन ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको