Chauthoanga - Nepali News Media
फस्टायो सिमेन्ट बजार मुख्य कम्पनीको नाफा बढ्यो, उत्पादन क्षमता पनि बढाए

काठमाडौँ : सिमेन्ट उद्योगले सन् २०२१ मा आफ्नो नाफा बढाएका छन्। कोभिड महामारीको कारण २०२० मा घटेको अधिकांश सिमेन्ट उद्योगको आम्दानी २०२१ मा बढेको हो। 

सार्वजनिक ताजा तथ्यांकले २०२१ मा बढी आम्दानी गर्नेमा सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट, रिद्धि सिद्धि सिमेन्ट अग्रपंक्तिमा छन्। पब्लिक कम्पनीमा गई आईपीओ जारी गर्ने तयारीमा रहेका घोराही र सर्वोत्तमले सिमेन्टले पनि आफ्नो बिक्री बढाएका छन्। 

नेपालमा वार्षिक करिब १ करोड मेट्रिक टन सिमेन्ट खपत हुन्छ। सिमेन्ट उद्योग संघका अनुसार नेपालमा ६५ बढी सिमेन्ट उद्योग सञ्चालनमा छन्। 

नेपाल सिमेन्ट उद्योगमा आत्मनिर्भर भई निर्यातको चरणमा छ। पाल्पा सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गरी चालू आर्थिक वर्षमा सिमेन्ट निर्यात गर्न सकिने बलियो संकेत दिइसकेको छ। 

सरकारले सिमेन्ट निर्यातलाई सघाउ पुग्ने गरी ८ प्रतिशतसम्म सहुलियत दिने बजेटमै घोषणा गरेको छ। वाणिज्य मन्त्रालयले सहुलियतसम्बन्धी कार्यविधि बनाइरहेको छ। सिमेन्ट उद्योगीले १ वर्षमा १ खर्ब ५० अर्ब रुपैयाँ निर्यात गर्नसक्ने दाबी पनि गरिरहेका छन्। 

कसले कति गरे आम्दानी? 
सर्वोत्तम सिमेन्ट
बुकबिल्डिङ विधिबाट सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडले २०२१ मा ८ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले आफ्नो करअघिको आम्दानी २६ प्रतिशतले बढाएको छ। 

कम्पनीको आम्दानी हरेक वर्ष वृद्धि हुँदै गएको छ। २०१८ मा ६ अर्ब २६ करोड रुपैयाँ आम्दानी हुँदा २०१९ मा ७ अर्ब ४ करोड रुपैयाँ छ। २०२० मा कम्पनीले ७ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ। 

सर्वोत्तम सिमेन्ट २०१०मा स्थापना भएको कम्पनी हो। २०१९ मा पब्लिक कम्पनीमा गएको सर्वोत्तमले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ। नवलपरासीमा रहेको उद्योगमा मुख्य सेयर विष्णु न्यौपानेको सौरभ ग्रुपको छ। कम्पनीले ओपीसी र पीपीसी सिमेन्टको मुख्य कारोबार गर्छ। 

कम्पनीको वार्षिक १० लाख मेट्रिक टन क्लिंकर र ग्रेडिङ क्षमता छ। जसमा वार्षिक ६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ।कम्पनीका २४ सय बढी डिलरमार्फत देशभर बिक्रीवितरण गर्दै आएको छ। 

घोराही सिमेन्ट
घोराही सिमेन्ट उद्योगले १ वर्षमा ६ अर्ब ९ करोड रुपैयाँको कारोबार गरेको छ। सन् २००७ मा स्थापना भएको कम्पनी २०२१ बाट पब्लिक कम्पनीमा रुपान्तरण भएको हो। 

आईपीओ जारी गर्ने तयारी गरिरहेको कम्पनीसँग १९ सय क्लिंकर उत्पादन क्षमता र २२ सय ग्रिडिङ क्षमता छ। कम्पनीले अहिले क्लिंकर क्षमता ३ हजार र ग्रिडिङ क्षमता १४ मेट्रिक टन उत्पादन गर्न थप गरेको छ। 

दाङमा स्थापना भएको कम्पनीले २०१९ मा कम्पनीले ८ अर्ब ८७ करोड रुपैयाँको कारोबार गरेकोमा २०२० मा कोभिड महामारीको कारण व्यापार ५ अर्ब ६७ करोडमा सीमित भएको थियो। कम्पनीको कारोबार अझै पुरानो अवस्थामा फर्किन नसकेको देखिएको छ। 

कम्पनीले गत चैतसम्म ३ अर्ब ७२ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ। घोराही सिमेन्टमा मुख्य लगानी त्रिवेणी गु्रप (सांघाई) र विशाल ग्रुपको छ। कम्पनीको अध्यक्षमा पुरुषोत्तमलाल सांघाई हुनुहुन्छ ।

रिद्धि सिद्धि सिमेन्ट
रिद्धि सिद्धि सिमेन्टले १ वर्षमा ६ अर्ब ३७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। २०२० मा १ अर्ब ७९ करोड आम्दानी गरेको कम्पनीले एकै वर्षमा ४ अर्ब बढीले सञ्चालन आम्दानी गरेको छ। २०२१ मा बढी उत्पादन हुनुमा २ वटै युनिटबाट पूर्णरुपमा उत्पादन वृद्धि भएको छ।

सन् २०१३ मा स्थापना भएको कम्पनीमा मुख्य लगानी शंकर ग्रुप र अम्बे ग्रुपको छ। कम्पनीले क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री गर्छ।कम्पनीको क्षमता २ हजार ७६० टन प्रतिदिन छ। कम्पनीले रिद्धिसिद्धी र मकवानपुर ब्रान्डमा सिमेन्ट बिक्री गर्दै आएको छ। रिद्धिसिद्धिले ५० प्रतिशतभन्दा बढी अरु सिमेन्ट उद्योगलाई क्लिंकर बिक्री गरेको छ। कम्पनीको उद्योग हेटौंडाको रातोमाटेमा छ। 

पाल्पा सिमेन्ट
पाल्पा सिमेन्टको नाफा २५ प्रतिशतले बढेको छ। सन् २०१९ बाट उत्पादन सुरु गरेको कम्पनीले ३ वर्षमा अर्थात् २०२१ मा नै ४ अर्ब ४४ करोड रुपैयाँ कारोबार गरेको छ। २०१९ मा कम्पनीको बिक्री ६२ करोड रुपैयाँ थियो। 

सन् २०२० मा ३ अर्ब रुपैयाँको बिक्री गरेको थियो। कम्पनी २००९ मा स्थापना भए पनि क्लिंकर उत्पादन २०१९ मा र सिमेन्ट उत्पादन २०२० मा सुरु गरेको हो। करिब ६ लाख मेट्रिक टन क्लिंकर उत्पादन र ७ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ। 

पाल्पा सिमेन्ट उद्योग आरएमसी ग्रुपअन्तर्गत छ। कम्पनीले तानसेन ब्रान्डमा उत्पादन गरिरहेको छ। आरएमसी ग्रुपका कार्यकारी निर्देशकमा राजेश कुमार अग्रवाल र विष्णु कुमार अग्रवाल हुनुहुन्छ ।

सम्राट सिमेन्ट
सम्राट सिमेन्टले २०२१ मा ४ अर्ब १० करोड रुपैयाँको आम्दानी गरेको छ। २०१३ मा स्थापना भएको कम्पनीले २०२० को तुलनामा दोब्बर आम्दानी गरेको छ। 

कम्पनीले सन् २०२० मा २ अर्ब ११ करोड रुपैयाँको कारोबार गरेको छ। दाङमा रहेको सम्राट सिमेन्टमा हाल दैनिक ३ हजार ६०० मेट्रिक टन सिमेन्ट उत्पादन र ४ हजार मेट्रिक टन क्लिंकर उत्पादन क्षमता जडान गरिएको छ।

कम्पनीले २०२२ जनवरीमा दैनिक १८ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता बढाएको थियो। २०२१ जनवरीमा ४ हजार क्षमताको क्लिंकर उत्पादन गर्ने युनिट जडान गरेको थियो। कम्पनीले १० अर्ब १३ करोड लगानी थप गरेको थियो। 

सम्राट सिमेन्टमा प्रमुख लगानीकर्ता चौधरी ग्रुप छ। चौधरी ग्रुप प्रालिले २०२१ जुलाईमा ३५.८५ प्रतिशत सेयर खरिद गरेको थियो। कम्पनीको बोर्डमा निवार्ण चौधरी, वरुण चौधरी छन्। कम्पनीको अध्यक्ष अनिल कुमार रुगाटा र बासुदेव पाण्डेय प्रबन्धनिर्देशक हुनुहुन्छ ।

ब्रिज सिमेन्ट
ब्रिज सिमेन्ट उद्योगले २०२१ मा २ अर्ब ९९ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ। २०२० को तुलनामा २०२१ मा ५.४ प्रतिशतले कर अघिको आम्दानी बढेको छ। सन् २००० मा स्थापना भएको कम्पनीले दैनिक १२ सय मेट्रिक टन छ। 

कम्पनीले २०२० मा २ अर्ब ८६ करोड रुपैयाँ छ। कोभिड अघि २०१९ मा ४ अर्ब २३ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ। ब्रिज सिमेन्टमा केडिया अर्गनाइजेसनको ५० प्रतिशत र भारतीय शान्ता सिमेन्ट प्रालिको ५० प्रतिशत सेयर छ। ब्रिज सिमेन्ट ओपीसी २ वटा ब्रान्डमा र पीपीसी ५ ब्रान्डमा र पीएससी १ वटा ब्रान्डमा बजारमा बिक्री गरिरहेको छ। 

अम्बे सिमेन्ट
अम्बे सिमेन्टले १ वर्षमा २ अर्ब ४ करोडको सिमेन्ट बिक्री गरेको छ। २००४ मा स्थापना भएको कम्पनीले २०२० मा १ अर्ब ७८ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको थियो। कम्पनीको दैनिक एक हजार मेट्रिकटन प्रतिदिन उत्पादन क्षमता छ। 

कम्पनीले पीपीसी, ओपीसी, पीएससी सिमेन्ट १० फरक ब्रान्ड  बजारमा ल्याउने गरेको छ। अम्बे सिमेन्टमा अम्बे ग्रुप अफ कम्पनी मुख्य प्रवर्द्धक छ।   


सप्तकोशी सिमेन्ट
सप्तकोशी सिमेन्टले २०२१ मा २ अर्ब १ करोड रुपैयाँको कारोबार गरेको छ। सन् १९९६ मा स्थापना भएको कम्पनीले २ वर्षअघि नेशनल सिमेन्टबाट नाम परिवर्तन गरी सप्तकोशी बनेको छ। विराटनगरमा उद्योग रहेको कम्पनीले २०२० मा १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। २०१९ मा भने १ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको अडिट रिपोर्टले देखाएको छ। 

कम्पनीको दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ। सप्तकोशीमा एचआर गोयल ग्रुपको मुख्य लगानी छ। आशिस गोयल कम्पनीका अध्यक्ष हुनुहुन्छ ।  

अग्नी सिमेन्ट
अग्नी सिमेन्ट इन्डस्ट्रिजले १ वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले २००९ मा दैनिक ६ हजार मेट्रिक टन क्षमता रहेको उद्योग अहिले ९ हजार क्षमतामा विस्तार भएको छ। सन् २०१९ मा १ अर्ब ९७ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेकोमा २०२० मा १ अर्ब ३० करोड रुपैयाँ छ। 

मेडिकल र शिक्षा क्षेत्रमा समेत लगानी रहेका कृष्ण प्रसाद पोखरेल कम्पनीका अध्यक्ष हुनुहुन्छ ।  डा. तारा प्रसाद पोखरेल कम्पनीका प्रबन्धनिर्देशक हुनुहुन्छ ।  

काबेली सिमेन्ट
काबेली सिमेन्ट उद्योगले २०२१ मा ४३ करोडको सिमेन्ट बिक्री गरेको छ। दैनिक ५०० टन क्षमता रहेको सिमेन्ट कम्पनी झापाको हल्दीबारीमा छ। १५ जना सेयर होल्डर रहेको कम्पनीमा अरुण कुमार मैनाली कम्पनीका अध्यक्ष  हुनुहुन्छ । कम्पनी २०१८ मा स्थापना भएको थियो। 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको