Chauthoanga - Nepali News Media
प्रतिनिधिसभा बैठक बाट तथ्याङ्क विधेयक,  पारित
partinidhi-sava.jpg

 काठमाडौँ  : प्रतिनिधिसभाको आजको बैठकले तथ्याङ्क विधेयक, २०७८ पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाको सन्देश सहितको तथ्याङ्क विधेयक, २०७८ सभाको बहुमतले पारित गरेको हो ।

यसअघि, आजको बैठकको सुरु भए लगत्तै सांसद खगराज अधिकारीले स्वास्थ्य सेवामा खतरनाक समय आएको बताउँदै स्वास्थ्य बीमालाई समाप्त गर्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गर्न सभामुखमार्फत रुलिङको माग गर्नुभएको थियो ।

सांसद अधिकारीले समाजवाद उन्मुख एक मात्र कार्यक्रम स्वास्थ्य बीमालाई समाप्त गर्न खोजिएको र स्वास्थ्य मन्त्रालयले ४/५ लाख डोज कोभिशिल्ड खोप समेत हराएको बताउनुभयो । अर्का सांसद महेश बस्नेतले भक्तपुर इन्जिनियरिङ कलेजमा भइरहेको अनियमिततामा महान्यायधिवक्ताको कार्यालयले समेत सहयोग गरेको भन्दै महान्यायाधिवक्ता राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाँले देशैभर बाढी पहिरोले क्षति पुर्‍याइरहे पनि सरकारले राहत र पुनर्स्थापना लागि ध्यान नदिएका बताउनुभयो ।आजको शून्य समयमा सांसदहरुले शैक्षिक स्तर खस्कँदै गएको, बाढि र पहिरो पीडितको राहत, पुनर्स्थापना गर्नुपर्ने, नागरिकता विधेयक प्रमाणीकरण, महत्त्वपूर्ण विधेयक संसदमा अड्किरहेको, महाकाली सिँचाइ आयोजनाको काम हुन नसकेको लगायतको विषय उठाउनुभएको थियो ।

यस्तै, सांसदहरुले द्वन्द्व पीडित र सहिद परिवारलाई न्याय दिन, नाकामा विषादी मापन गर्न ल्याइएका मेसिनको अवस्था, आत्महत्याको अवस्था बढ्दै गएको, संसद्को कार्यकाल, सडक निर्माण, बाल शिक्षकको पारिश्रमिक, त्रिभुवन विश्वविद्यालयको छानविन प्रतिवेदन सार्वजनिक गर्न, मुस्ताङमा भएको घटना लगायतका विषय राख्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको