Chauthoanga - Nepali News Media
छात्रालाई बलात्कार आरोपमा शिक्षक पक्राउ
eeeeeeeee.png


अर्घाखाँचीमा छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

मालारानी गाउँपालिका ७ हंसपुरको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले बताए।

खनालका अनुसार शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। 

शिक्षकले १५ वर्षीया नाबालिका छात्रालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक खनालले बताए। 

प्रहरीले जबरजस्ती करणी आरोपमा पक्राउ परेका शिक्षक र विद्यालयको नाम भने खुलाएको छैन।

शिक्षक र विद्यालयको नाम खुलाउँदा बालिकाको समेत पहिचान खुल्न सक्ने भएको र घटनाबारे अनुसन्धान भइरहेकोले नाम गोप्य राखिएको प्रहरीले बताएको छ।

‘पीडितको तर्फबाट जाहेरी परेपछि आरोपितलाई पक्राउ गरे पनि बयान लिने र थप अनुसन्धान गर्न बाँकी छ,’ खनालले भने।

पीडितको तर्फबाट प्रहरीमा दिएको जाहेरीमा स्थानीय जंगलमा लगेर पहिलो पटक गत पुष १९ गते र त्यसयता पटकपटक जबरजस्ती करणी गरेको उल्लेख छ।

साथै जबरजस्ती करणीपछि नाबालिका गर्भवती भएको र गर्भपतन समेत गर्नुपरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ।

आरोपित शिक्षकलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको