Chauthoanga - Nepali News Media
दोहोरो नागरिकता लिनेहरु धमाधम फेला पर्दै

काठमाडौँ : राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् । 

विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् । हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।

महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकिएको मितिमा फोटो खिच्ने र डिजिटल हस्ताक्षर गराउने कार्य (लाइभ इनरोलमेन्ट) गरिन्छ ।  

त्यसपछि ती व्यक्तिको अन्य सरकारी कागजात परीक्षण गर्ने कार्य गरिन्छ । नागरिकता, पुरानो राहदानी, चालक अनुमतिपत्र लगायतका सरकारी कागजात भए नभएको र त्यसमा उल्लेखित व्यक्तिगत विवरणको तुलनात्मक परीक्षण गरिन्छ । 

महानिर्देशक यादवले भन्नुभयो, “कतिपय व्यक्तिको नाम, जन्म मिति आदि फरक भएको पाइएको छ । कतिपयले नयाँ नागरिकता लिएर विद्युतीय राहदानी बनाउन आएको फेला पारिएको छ ।” 

विभागका प्रवक्ता डा. डमरुबल्लभ पौडेलले प्रायजसो अरू विवरण फरक भए पनि पुरानो राहदानी र नागरिकतामा फोटो त्यही व्यक्तिको हुने भएकाले दोहोरो नागरिकता लिएको पुष्टि भएको बताउनुभयो । यसको परीक्षण विभागस्थित प्रहरी र फरेन्सिक युनिटले गर्छ । 

उहाँका अनुसार दोहोरो नागरिकता लिने व्यक्ति कुनै आपराधिक गतिविधिमा संलग्न रहेको पाइएमा प्रहरीले छुट्टै कारबाहीको प्रक्रिया थाल्छ । उहाँले भन्नुभयो, “सामान्य नागरिकको हकमा पुरानो नागरिकता रद्द गरेको पत्र जिल्ला प्रशासन कार्यालयबाट लिएर आएमा राहदानी दिइन्छ ।”

प्रायः कम उमेरमा भारतीय सैनिकमा भर्ती हुन नागरिकता बनाएका, उमेर घटाएर अन्डर–१६, अन्डर–१९ जस्ता खेलकुदमा भाग लिन जानका लागि हतारमा युवापुस्ताले बनाएका नागरिकता, द्वन्द्वकालमा नागरिकता बनाएका तथा दलित समुदायका व्यक्तिले आफ्नो जात ढाँटेर अर्को जात वा थरमा नागरिकता बनाएका र वैदेशिक रोजगारमा जानेको दोहोरो नागरिकता फेला पारिएको छ । आपराधिक गतिविधिमा संलग्न व्यक्ति पनि दोहोरो नागरिकता बनाएर राहदानी लिन आउनेमा पर्छन् । स्रोत - गोरखापत्रअनलाईन 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको