Chauthoanga - Nepali News Media
प्रसूति सेवा नि:शुल्क भएपछि राप्ती स्वास्थ्य प्रतिष्ठानमा सेवा  लिनेको सङ्ख्या बढ्यो

दाङः दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा नि:शुल्क भएपछि  सेवा  लिनेको सङ्ख्या बढेको छ ।

पछिल्लो एक महिनामा एक सय भन्दा बढी महिलाले नि:शुल्क प्रसूति सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखि नि:शुल्क प्रसूति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महिलाको सङ्ख्या पछिल्लो समय  बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताउनु भयो । उहाँका अनुसार आईसीयू, भेन्टिलेटर, बच्चाको लागि एनआईसीयू, पीआईसीयू सेवासहित विशेषज्ञ चिकित्सक थपेपछि बिरामीको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको हो ।

यस्तै प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले अस्पतालमा बितेको ४ महिनामा सामान्य र जटिल गरेर ९ सय भन्दा बढी महिलाले नि:शुल्क प्रसूति सेवा पाएको जानकारी दिनु भयो । उहाँका अनुसार हाल प्रतिष्ठानमा आएका सुत्केरी महिलाहरुको नर्मल डेलिभरी हुन नसकेको अवस्थामा दैनिक ६ देखि १२ जनाको शल्यक्रिया गरेर बच्चा निकालिँदै आएको छ ।

प्रतिष्ठानमा अहिले मात्रै दैनिक ओपीडीमा विशेषज्ञ चिकित्सकसँग देखाउने बिरामीको सङ्ख्या ७ सय भन्दा धेरै रहेको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले आफू नेतृत्वमा आएपछि प्रसूति सेवा नि:शुल्क गर्ने पहिलो निर्णय गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको