Chauthoanga - Nepali News Media
दाङमा हतियारकै जगजगी

घोराही : २०७८ साउन १८ गते गढवा गाउँपालिका–१ जुरौलीस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटेको संयुक्त टोलीले पैदल हिंडिरहेका सिद्धार्थनगर नगर पञ्चायत बढनी–३ का २२ वर्षीय करमुल्लाह अमिर र वडा नं. ८ बस्ने राजा खानको साथबाट एक थान स्वचालित पेस्तोल, म्याग्जिन र दुई थान गोली फेला पा¥यो । उक्त हतियार कहाँ किन बोकिएको थियो र कहाँ लगिदै थियो भन्ने खुलेन तर उनीहरुविरुद्ध मुद्दा चलाइयो । त्यसको एक महिनापछि २०७८ भदौ १८ गते घोराही–१३ बडहराका २५ वर्षीय इन्द्रकमल बुढा मगर पनि स्वचालित पेस्तोलसहित पक्राउ परे । यतिमात्रै होइन वडा प्रहरी कार्यालय लमहीले २०७९ वैशाख २२ गत बागलुङ बुर्तिवाङ घर भई लमही–३ टिकलीगढ बस्ने २० वर्षीय सोमु विकलाई पनि एक थान पेस्तोलसहित पक्राउ ग¥यो । यो क्रम रोकिएन । पछिल्लो पटक २०७९ साउन ३० गते गढवा गाउँपालिका–१ मलमलास्थित डिलबहादुर कुमालको घरमा एकथान भरुवा बन्दुक, एक थान बारबोर फेला प¥यो । यसरी फेला परेका हतियार प्रहरीले बरामद गरेर संलग्नहरुलाई कारवाही प्रक्रिया थाले पनि जिल्लामा अवैध हातहतियारकै कारण असुरक्षा बढ्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकले आर्थिक वर्ष २०७८/७९ मा मात्रै नौ नाल अवैध हतियार बरामद भएको देखाएको छ । ती अवैध हतियारसहित गत वर्ष १२ जना पक्राउ परे । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त एक थान लाइसेन्सबिनाको हतियार पनि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको थियो । यो घटनाले पनि दाङमा अवैध हतियारको प्रयोग घटेको देखिदैन । गत आर्थिक वर्षमा छ नाल भरुवा बन्दुकसहित छ जना, नौ एमएम पेस्तोल दुई नालसहित तीनजना र भरुवा पेस्तोल एक नालसहित तीनजनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । तथ्यांक हेर्दा हरेक वर्ष अवैध हातहतियार भेटिनेक्रम बढेको पाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा छ वटा भरुवा बन्दुकसहित आठजना पक्राउ परेका थिए भने त्योभन्दा अघिल्लो वर्ष चार थान हतियारसहित १० जना पक्राउ परेका थिए । दुई थान कटुवा पेस्तोलसहित चारजना र दुई थान भरुवा बन्दुकसहित छजना पक्राउ परेको रेकर्ड जिल्ला प्रहरी कार्यालय दाङमा छ । यी त बरामद भएका हतियारको संख्या हो । अन्तरदेशीय खुला सिमानाका कारण अवैध हातहतियार ओसारपसार गर्ने र लुकाइ छिपाइ राख्नेको संख्या सोचेभन्दा बढी हुनसक्ने सरोकारवालाहरुको भनाइ छ । ८३ किलोमिटर लामो दाङको सीमावर्ती क्षेत्रमा २१ वटा नाका छन् । खुला सिमाना भएका कारण अवैध हतियार ओसारपसार सजिलै हुने अवस्था छ । प्रहरीले पक्राउ गरेका केही त भारतीय नागरिक समेत छन् । उनीहरुबाट स्वचालित हतियार बरामद भएको छ ।

लाइसेन्सकै हतियार पनि चुनौतीपूर्ण

दाङमा इजाजत लिएकै हतियारबाट सुरक्षा चुनौती छ । इजाजत लिएर दाङ जिल्लामा दुई सय नौ थान हतियार विभिन्न व्यक्तिले राखेका छन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा अवैध र ५६ वटा इजाजत प्राप्त हतियार प्रशासनमा बुझाइयो । अरु एक सय ५३ थान हतियार चुनावकै बेला पनि नागरिकले घरमै राखे । प्रशासनलाई नै अटेर गरेर घरमा राख्दा चुनावमा मात्रै होइन अरु बेला पनि घरमा राखिएका हतियार सुरक्षाभन्दा पनि दुरुपयोग हुने जोखिम छ । जिल्ला प्रशासन कार्यालयका अनुसार

बारबोर र बाइसबोर बन्दुकमा सबैभन्दा धेरै साविक घोराही नगरपालिकामा ५० थान र तुलसीपुरमा २६ थान हतियारको इजाजत छ । साविक टरिगाउँ गाविसमा १२ थान, हेकुलीमा १० थान हतियार छन् । यसैगरी धनौरीमा आठ, श्रीगाउँ, उरहरी, हलवार, हापुर र नारायणपुरमा तीन÷तीन थान, फूलबारी, मानपुर, सतबरिया र कोइलाबासमा छ÷छ थान, डुरुवा, राजपुर, सिसहनिया र गढवामा दुई÷दुई थान, धर्ना र चैलाहीमा चार÷चार थान बन्दुक नागरिकको घरमा छन् । त्यसैगरी साविक ढिकपुर र सोनपुरमा सात÷सात थान, सांैडियारमा नौ थान, लालमटियामा आठ थान, गोबरर्डिहामा नौ थान हतियारको इजाजत छ । बाघमारे, रामपुर, बिजौरी, लक्ष्मीपुर, बेला र पुरन्धारामा एक÷एक थान हतियारको इजाजत छ ।

निर्वाचनमा थप चुनौती

आगामी मंसिर ४ मा संघ तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा इजाजत प्राप्त सबै हतियार प्रशासनमा संकलन भएनन् । नागरिकले नै राख्दा त्यस्ता हतियार चुनावी होडवाजीमा दुरुपयोग हुने जोखिम रहेको सरोकारवालाहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एवं प्रवक्ता राजन कुमार गौतमले निर्वाचनका समयमा लाइसेन्स प्राप्त हतियारबाटै पनि सुरक्षा चुनौती हुने बताउनुभयो ।

‘हतियार जस्तो कुरा ब्यक्ति–ब्यक्ति सँग छ भनेपछि त्यो सुरक्षा चुनौतीकै विषय हो । अन्य बेलामा भन्दा निर्वाचनका समयमा बढी चुनौती हुन्छ’– उहाँ भन्नुहुन्छ– ‘अन्य कसैले त्यससँग हतियार छ केही गरौं भन्ने कारणले, चुनावी बेला डर त्रास सिर्जना गर्ने कुराहरु, चुनावमा विभिन्न खालको बाधा व्यवधान गर्ने कुराहरु हुन सक्छ यस कारण चुनावलाई कतै न कतै चुनौती छ ।’

उहाँले चुनावमा हतियारहरुको दुरुपयोग हुन सक्ने आशयले हतियार बुझाउन भनिए पनि नबुझाउनेलाई के दण्ड भन्ने व्यवस्था नभएको बताउनुभयो । ‘हतियारधनी व्यक्तिबाट पनि वा अरु कुनै कारणले पनि लुटपाट भएर अथवा अन्य कुनै कारणले ती हतियारहरु चुनाव बिथोल्ने काममा प्रयोग हुन सक्छन् भनेर सरकारले बुझाउन भनेको हो’– उहाँले भन्नुभयो– ‘वास्तवमा चुनावमा आँकडा अनुसार हतियार बुझाइनुपर्छ । ल्याएन भने कारवाही गर्ने भन्ने छैैन । तर उसलाई खोजी गरेर बुझाउन लगाउने काम चाहिँ हामीले गरिरहेका हुन्छौं । हतियार बुझाउन सूचनाहरु स्थानीय तह र वडासम्मै पठाउँछौं ।’ उहाँका अनुसार कतिपय मान्छेहरु हतियार बुझाउन आउँछन भने कतिपय मान्छेहरु आउँदैनन ।

‘नआएको हकमा त्यस्तो कानुनी व्यवस्था केही छैन । चुनावमा दुरुपयोग नहोस् भन्ने मात्रै मनसायले हतियार मागिन्छ ।’ नयाँ युगबोधबाट

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको