Chauthoanga - Nepali News Media
सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताउनुभएको छ ।उहाँले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

उक्त प्रस्तावमाथिको छलफलका क्रममा उहाँले आमसञ्चारमाध्यमलाई स्वच्छ, पारदर्शी, व्यावसायिक, मर्यादित र उत्तरदायी बनाउन, पत्रकारिताको विकास र सम्वद्र्धन गर्न तथा पेशागत आचरण कायम राख्न आवश्यक महसुस गरी सरकारले विधेयक प्रस्तुत गरेको बताउनुभयो ।

सदनमा विचाराधीन अवस्थामा रहेको विधेयक राष्ट्रियसभामा दफावार छलफल भई प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो ।

पत्रकारिताका क्षेत्रमा नियमनका लागि साबिकको प्रेस काउन्सिल नेपाल भए पनि यसको कार्यक्षेत्र सीमित रहेको र सञ्चारमाध्यमका सबै विधालाई समेट्न नसकेका सन्दर्भमा यो विधेयक अघि बढाएको मन्त्री कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वमा नै यस प्रकारको प्रयोग रहेको छ, आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन विधेयकको तर्जुमा गरिएको हो । साबिकको काउन्सिलले पत्रकारिताका सबै विधालाई सम्बोधन गर्न नसक्ने भएकाले यो विधेयक ल्याउनुपरेको हो ।” 

विधेयक पारित भई ऐन लागू भएपछि पत्रकारिता क्षेत्रमा जिम्मेवारी अभ्यास बढ्ने र सञ्चारमाध्यमसँग सम्बन्धित विभिन्न पक्षबीच मतभेद, विवाद र गुनासालाई स्वनियमन प्रणालीद्वारा समाधान गर्न सकिने उहाँको भनाइ थियो । 

राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी मन्त्री कार्कीले राख्नुभएको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको