Chauthoanga - Nepali News Media
प्रदेश राजधानी निर्माणका लागि रकम माग

बुटवल : लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरी उपत्यकामा प्रदेश राजधानी निर्माणका लागि नेपाल सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ। गत वर्ष सङ्घीय सरकारले लुम्बिनी प्रदेश सरकारलाई राजधानीको पूर्वाधार निर्माणका लागि एक अर्ब रुपियाँ प्रदान गरेको थियो।

उक्त रकम अपुग भएपछि प्रदेश सरकारले फेरि सङ्घीय सरकारसँग सहयोग माग गरेको हो। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश राजधानी निर्माणमा बजेटको अभाव हुन नदिन आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो।

बैठकले लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकासका लागि विभिन्न दातृ निकाय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग आवश्यक स्रोत व्यवस्थापन गरिदिन नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिनुभयो।

प्रदेश सरकारले प्रदेश सभाको ११औँ अधिवेशन दाङको लालमटियामा निर्माणको अन्तिम चरणमा रहेको प्रदेश सभा सचिवालयमा गर्ने तयारी गरेको छ। अहिले प्रदेश सभाको निर्माणको काम सम्पन्न भएको र आवश्यक अन्य पूर्वाधार जडानको काम भइरहेको प्रदेश सरकारले जनाएको छ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले मन्त्रिपरिषद्को यही भदौ २६ गते बसेको बैठकले विपत्जन्य घटनाबाट क्षति भएका उद्योगलाई सहयोग तथा राहत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको बताउनुभयो। रोल्पामा रहेको तिला जनयुद्ध सङ्ग्रहालय विकास समिति सदस्यमा कृष्णकुमार नेपाली, लालसरी घर्तीमगर र मानबहादुर पुनलाई मनोनीत गरेको प्रवक्ता शर्माले बताउनुभयो।  

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको