Chauthoanga - Nepali News Media
दशैँको तीन दिन ठूलो पानी पर्ने , कुन दिन कहाँ  कहाँ पर्छ पानी  ?

काठमाडौं - जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष दशैंको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको छ ।  हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि पर्ने भएको हो ।

मौसमविद विनोद पोखरेलले नवमीदेखि नेपालमा वर्षा सुरु हुने र द्वादशीसम्मै कायम रहने बताउनु भयो ।  यसबीचमा पश्चिम नेपालका केही स्थानमा अति भारी वर्षाको सम्भावना समेत छ ।जल तथा मौसम विज्ञान विभागले पनि दशैं विशेष मौसम बुलेटिन जारी गर्दै असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जानकारी गराएको छ ।

नवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही जिल्लामा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यसैगरी असोज १९ गते दशैंको टीकाको दिन त भने केही स्थानमा अति भारी वर्षाको सम्भावना छ । बुलेटिनमा लेखिए अनुसार असोज १९ गते देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा अति भारी वर्षा हुने छ ।

असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

त्यसैले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भएतापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

weather_pfgZRosXjF1664590112.jpg

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको