Chauthoanga - Nepali News Media
नेपालमा सुर्तीजन्य पदार्थ खाँदा हरेक वर्ष २७ हजार बढीको मृत्यु

दाङ- नेपालमा सुर्तीजन्य पदार्थ खाँदा हरेक वर्ष २७ हजार बढीको मृत्यु हुने गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगका कारण लाग्ने रोगको उपचारमा बर्सेनि अरबौं रुपैयाँ खर्च समेत हुने गरेको छ । ग्लोबो क्यानले प्रक्षेपण गरेको एक प्रतिवेदनले नेपालमा सन् २०२२ मा थप ५ हजार क्यान्सरका नयाँ बिरामी थपिने देखाएको छ । यस्तै, सो वर्ष ४ हजार जनाको सुर्तीजन्य पदार्थका कारण मृत्यु हुने प्रक्षेपण गरिएको छ ।

३५ देशमा गरिएको अध्ययनले क्रोनिक अब्स्ट्रक्टिभ पुलमोनरी डिजिज’ (सीओपीडी)बाट सबैभन्दा बढी मृत्यु नेपालमा हुने गरेको देखाएको छ । मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन नै रहेको पाइएको छ । नेपालमा हरेक १० मध्ये ७ मृत्यु नसर्ने रोगका कारण हुने गर्दछ ।

 

नेपालमा सुर्तिका कारण मृत्यु हुनेको संख्या चार गुणाभन्दा बढी देखिएको छ । कोरोना महामारीले झण्डै तीन वर्षमा १२ हजार मानिसको मृत्यु हुँदा सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष २७ हजारभन्दा बढीको मृत्यु हुने गरेको विज्ञहरुको भनाइ छ ।

पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई मात्रै होइन, नगर्नेलाई पनि असर गरेको बताउनु हुन्छ । सेकेण्ड ह्याण्ड स्मोकिङको असर हुन सक्ने भएकाले सुर्तीजन्य सेवन नगर्नेहरु पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

सुर्तीजन्य पदार्थ सेवन गर्दा टक्सीनले फोक्सोका कोसिकाहरुलाई नष्ट गर्ने हुँदा फोक्सोको क्यान्सर हुने जोखिम बढ्ने डा. शाहीको भनाई छ ।  क्यान्सरहरुमध्ये सबैभन्दा बढी अर्थात् फोक्सोको क्यान्सरले ८० प्रतिशतको मृत्यु हुने र प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको सुर्तीजन्य पदार्थको कारण ज्यान जाने एक अध्ययनले देखाएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०९:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको