Chauthoanga - Nepali News Media
बिजुलीका पोलमा तानिएका तार ४५ दिनभित्रमा व्यवस्थापन गर्न प्राधिकरणको 'अल्टिमेटम'

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका बिजुलीका पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ ।

प्राधिकरणले आज मङ्गलवार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रवाहका लागि बिजुलीका पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै त्यहीअनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई समयसीमा दिएकाे छ । बिजुलीकाे पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभाबी झुन्ड्याइएका उपकरणहरूका कारण सहरलाई कुरुप बनाएको छ । आगलागीलगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको छ ।

आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न समयसीमासहित सार्वजनिकरूपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो ।
‘तोकिएको समयमा व्यवस्थापन नगर्ने/नगराउने सेवा प्रदायकहरूको केबललगायतका उपकरणहरू नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुन सक्ने नोक्सानीका लागि सम्बन्धित सेवा प्रदायक स्वयम् नै जिम्मेवारी हुनुपर्ने छ’, उपकार्यकारी निर्देशक सिलवालले भन्नुभयो, ‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ, आगलागी भइ जनधनको क्षति भएको छ, हाम्रो सेवा प्रवाह प्रभावित भएको छ, सहरी सुन्दरता कायम गर्न, विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरूका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो ।’

प्राधिकरणले अप्टिकल फाइबर/केबल र विद्युत् लाइन तथा भू–सतहबीचको न्यूनतम दुरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र  केबलबीचको न्यूनतम दुरी क्रमशः ८० र ३० सेन्टिमिटर हुनुपर्ने छ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दुरी दुई मिटर हुनुपर्ने छ । अन्य ४०० भोल्टका उपकरणरूसँगको न्यूनतम दुरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबर/केबल र जमिन सतहबीच पैदलमार्गमा २ दशमलव ४ मिटर र सडकमा ५ दशमलव ५ मिटर तोकिएको छ । न्यूनतम दुरी कायम कायम नगरि सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।

राउटर, अप्टिकल फाइबर वितरण बक्सजस्ता उपकरणहरू पोलको एउटैमात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरू तत्काल हटाउनुपर्ने छ । पोलहरूमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरू तान्दा समेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुन्ड्याउन नपाउने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकहरूले आफूहरूकाे तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्ने छ । पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नुपर्ने छ । सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसङ्ख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्ने छ । तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केबलहरू हटाउनुपर्ने छ ।

तोकिएका मापदण्ड तार तथा उपकरणहरूलाई सेवा प्रदायहरूले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउनुपर्ने छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको