Chauthoanga - Nepali News Media
तान्जानियाको एउटा विमान लेक भिक्टोरियामा दुर्घटना

तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा २६ जना मानिसहरूको उद्धार गरिएको जनाएका छन्।

सो विमानमा ४३ जना सवार रहेको एक जना स्थानीय अधिकारीले बताएका छन्।आर्थिक राजधानी दर ए सलामबाट उक्त विमान उडेको थियो।सामाजिक सञ्जालमा राखिएका भिडिओमा उद्धार कार्यकर्ताहरूले मानिसहरूलाई डुङ्गामा चढ्न सघाइरहेको देख्न सकिन्छ।

तर विमानको पछिल्लो भाग भने पानीको मुन्तिर देखिन्छ।उद्धार कार्य जारी रहँदा तान्जानियाका राष्ट्रपतिले शान्त रहन अपिल गरेकी छन्।उद्धारकर्ताहरूलाई स्थानीय माझीहरूले पनि खोजीमा सघाइरहेका छन्।

बुकोबा विमानस्थलको एउटा धावनमार्गको अन्तिम विन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ।उक्त विमानले आँधी र ठूलो वर्षाको सामना गर्नुपरेको विवरण आएका छन्।प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको