Chauthoanga - Nepali News Media
दाङ दुईमा कस्ले जित्दै छ चुनाव ? 

दाङ -     मंसिर ४ नजिकिएसंगै देशका अन्य निर्वाचन क्षेत्र जस्तै दाङको क्षेत्र नम्बर २ मा पनि निर्वाचनको माहोल तातिएको छ । उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई पनि व्यापक बनाएका छन् । दाङ २ का लागि यसपालिको चुनाव कस्ले जित्ने वा हार्ने संग मात्र सिमित छैन । एमाले महासचिव तथा पूर्व मूख्यमन्त्री शंकर पोख्रेल र माओवादी केन्द्रकी प्रभावशाली नेतृ तथा पूर्व मन्त्री रेखाशर्मा बीचको प्रतिस्पर्धाले यो निर्वाचनलाई देशभरीमा नै चर्चाको विषय बनाएको छ ।  हामीले निर्वाचनमा आउन सक्ने सम्भावित मतपरिणामलाई अनुमान लाउने प्रयास गरेका छौं । स्थानीय तह निर्वाचनको मतपरिणाम, त्यसपछिको विकसित अवस्था एवं दलहरुको तयारी, यस क्षेत्रमा निर्णायक रहेको जातीय र क्षेत्रिय मतलाई मध्यनजर गरेर यो आंकलनको प्रयास गरिएको छ । 
बदर मत होलान त सदर ?  
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्थानीय तहको चुनावबाट भिन्न भएता पनि हालसालै भएको स्थानीय तहको मत परिणामलाई पूर्ण रुपमा अस्विकार गर्न भने सकिदैन. 
भर्खरै भएको स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरमा नेकपा(एमाले)का नरुलाल चौधरी ३१७२८मतका साथ नगर प्रमुखमा विजयी भएका थिए भने कांग्रेस र माओवादीको गठबन्धनका साझा उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’ले २६३६८ मत ल्याएका थिए. नरुलाल चौधरी र हेमराज शर्माको मतान्तर ५३६० थियो. । 
मेयर पदका अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरिता देवकोटाले ५३२४ भोट ल्याएकी थिइन भने गठबन्धनमा कुरा नमिल्दा नेकपा(एकीकृत समाजवादी)ले पनि छुट्टै उम्मेदवार उठाएको थियो. एकीकृत समाजवादीबाट राम प्रसाद चौधरीले ११४३ मत ल्याएका थिए. घोराही उपमहानगरपालिकामा १०७३० मत भने बदर भएको थियो. मतदाता शिक्षाको अभाव एवं तल माथि गरेर धेरै भोट हाल्नु पर्ने झन्झटिलो प्रक्रियाले गर्दा  बदर भएको अधिकांस मत आफ्नो रहेको गठबन्धनको दावी छ ।
यदि यो दावीलाई सही मान्ने हो गठबन्धनको मतमा बदर मत थप्ने हो भने गठबन्धन यहा ५००० मतले अगाडी हुन आउँछ जसको प्रत्यक्ष फाइदा यहाँ रेखा शर्मालाई हुन् सक्छ किनकी यसपालीको मतपत्रमा गठबन्धनबाट जुन दलले टिकट पाएको हो उसको मात्र चुनाव चिन्ह रहने गरी मतपत्र छापिएका छन् । अर्थात माओवादीले टिकट पाएको क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह हुने छैन भने कांग्रेसले टिकट पाएको ठाउँमा माओवादीको चुनाव चिन्ह हुने छैन ।
एमालेले गुमायो गढ  
यसरी हेर्दा गठबन्धन अगाडी देखिए पनि स्थानीय निर्वाचन क्षेत्रमा आएको मत विश्लेषण अपूर्ण हुने देखिन्छ किनकी घोराही उपमहानगरपालिकाको क्षेत्र र  प्रतिनिधीसभा दांग क्षेत्र नं २ को भूगोल भने करीब ४० प्रतिसत फरक छ । स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकामा पर्ने चार वटा वडाहरु केन्द्रको चुनावमा भने यस क्षेत्रमा नभएर देउखुरी क्षेत्र नं १ मा पर्छन भने तुलसीपुर उपमहानगरका चार वटा वडा यस क्षेत्रमा आएर गाभिन्छन. साथै सिंगो बंगलाचुली गाउँपालिका पनि यस क्षेत्रमा गाभिन आउँछ । 
यस निर्वाचन स्थानीय तहको निर्वाचनमा एमालेका कोर वडाका रुपमा रहेका वडा नम्बर १,२ का मतदाताले मंसिर ४ मा दाङ  २ बाट मत हाल्न पाउने छैनन् । किनकी यी वडा यो निर्वाचनमा दाङ क्षेत्र नम्बर १ मा गाभिएका छन् । यस्तै घोराही उपमहानगरपालिकामा पर्ने तर यस निर्वाचन क्षेत्रमा नपर्ने वडाहरु हुन वडा नं १, २, ३, ५. यी चारै वटा वडामा नेकपा (एमाले) उम्मेदवार विजयी भएका थिए ।  नेकपा(एमाले)को गढ मानिने यी वडाहरु यस क्षेत्रमा नपर्नुको प्रत्यक्ष घाटा एमालेका उम्मेदवार शंकर पोखरेललाई पर्ने देखिन्छ । यो क्षेत्रमा नेकपा(एमाले) गठबन्धन भन्दा करीब ४५०० भोटले अगाडी थियो. स्थानीय तहमा नेकपा एमालेको लागि हर्षको विषय बनेका वडा नं १, २, ३, र ५ अब यस निर्वाचनमा शंकर पोखरेलको लागि चिन्ताको विषय बन्न सक्छ । यद्यपी पछिल्लो समय बंगलाचुलीमा एमालेले पार्टी प्रवेश र संगठन विस्तार अभियानलाई व्यापक बनाएकोले त्यसको असर आउँदो निर्वाचनमा कस्तो देखिने हो ? यो विषय रोचक छ ।  
शंकरले पाउलान नरुलाल जस्तै थारु मत ? 
यसका साथसाथै घोराही २ मा अर्को चर्चाको विषय हो यहाँको थारु मत । स्थानीय तहको निर्वाचनमा मेयर पदमा नरुलाल चौधरीलाई यहाँ रहेको करिब ३० प्रतिशत थारm समुदायको मत मध्ये धेरै मत गएको थियो । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट कुनै चौधरी उम्मेदवार नहुँदा चौधरी समुदायको अधिकांस भोट नरुलाल चौधरीलाई आएको देखिन्छ तर यो निर्वाचनमा चौधरी समुदायको भोट नरुलाल चौधरीलाई जसरी शंकर पोखरेललाई नै आउला त?  एमालेका लागि यो चिन्ताको विषय हो । 
तुलसीपुरको मतले गठबन्धलाई बहुमत
 यस्तै जसरी घोराहीका चार वटा वडा बाहिरिदा त्यसको प्रत्यक्ष घाटा एमालेलाई पर्न सक्छ त्यसको ठिक विपरित यस निर्वाचन क्षेत्रमा गाभिन आउने तुलसीपुर उपमहानगरपालिकाका चार वडाहरुले गठबन्धलाई फाइदा पुर्याउन सक्छ ।  
तुल्सीपुरबाट यो क्षेत्रमा गाभिन आउने वडाहरु  हुन् वडा नं १६, १७, १८, १९. यी चार वडा मध्य दुई वटा वडामा नेकपा(एमाले), एउटामा नेपाली कांग्रेस र एउटामा माओवादीको उम्मेदवार विजायी भएका थिए । यसमा पनि वडा नं १६ मा गठबन्धनमा कुरा नमिले पछी एकल एकल प्रतिस्पर्धा गर्दा माओवादीका उम्मेदवार विजयी भएका थिए।  यसको अर्थ यो हो कि अहिले यस वडामा रहेको कांग्रेसको मत र एकीकृत समाजवादीको मत पनि गठबन्धन थपिने हुँदा समग्रमा यी चार वडामा गठबन्धन करीब २००० मतले अगाडी देखिन्छ. यहाँसम्मको तथ्यांक हेर्दा यस क्षेत्रमा गठबन्धनको समग्र मत नेकपा (एमाले)ले भन्दा करीब ११ हजार बढी हुन आउने देखिन्छ । 
थपिएको बंगलाचुलीले गठबन्धनलाई झनै सहयोग 
 अहिलेको चुनावमा उथलपुथल ल्याउने अर्को पक्ष हो बंगलाचुली गाउँपालिका ।  बंगलाचुली गाउँपालिका पनि यही निर्वाचन क्षेत्रमा पर्न आउँछ । भर्खरै भएको स्थानीय तहको निर्वाचनमा बंगलाचुली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका तुल्सिराम पुन सुबास ५७४९ मतका साथ विजयी भएका थिए भने  नेकपा(एमाले)का भेषराज खत्री ३६७८  मत ल्याएर पराजित भएका थिए. यहाँ गठबन्धनको भोट  एमाले भन्दा २०७१ बढी देखिन्छ. त्यसका साथै यहाँ १२२४ मत बदर भएको थियो ।  जसको ठुलो हिस्सा फेरी गठबन्धनको मतमा परिणत हुन सक्छ. त्यसमा पनि यस पालिकाका ४ वटा वडामा मात्र गठबन्धन भएको थियो र चार वडाका एकल एकल प्रतिस्पर्धा भएको थियो । गठबन्धन भएका चारै वटा वडा गठबन्धनले नै जितेको थियो । भने बाँकी ४ वडामा दुइटा माओवादी एवं दुइटा कांग्रेसले एकल एकल प्रतिस्पर्धा गरेर जितेका थि ।  यसरी हेर्दा यहाँ अहिले गठबन्धनको मत झनै बढ्न सक्छ. यो गाउँपालिका माओवादीको गढ मानिन्छ भने यहाँ काग्रेसको मत पनि एमालेको भन्दा अत्यधिक बढी देखिन्छ । 
शंकरको व्यक्तित्वले गठबन्धलाई अप्ठयारो 
यसरी हेर्दा एमाले महासचिव शंकर पोखरेल हेवीवेट भए पनि आउँदो निर्वाचनमा माओवादी केन्द्रकी  रेखा शर्मा हेभी भोट हुन सक्छिन ।  तथ्यांकको आधारले मात्र हेर्ने हो भने दांगको निर्वाचन क्षेत्र नं २ मा गठबन्धन करीब १५ हजार मतले अगाडी देखिन्छ तर चुनाव भनेको अंक गणित मात्र होइन बीज गणित पनि हो । शंकर पोखरेलको व्यक्तित्वले यो मतान्तर घटाउनै सक्दैन भनेर यसै भन्न सकिने अवस्था भने छैन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत भइसकेका र हाल एमालेको महासचिव समेत रहेको हुनाले पोख्रेलेको हेविवेट व्यक्तित्वले आगामी निर्वाचनमा गठबन्धलाई अप्ठयारो पार्न सक्ने सम्भावना पनि उत्तिक्कै छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको