Chauthoanga - Nepali News Media
उम्मेदवारको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही हुन्छ : आयुक्त भण्डारी

काठमाण्डाै - निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्न चेतावनी दिएको छ । आयाेगले स्थानीय प्रशासन चुनावमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने जनाएकाे हाे ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरुसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाइएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताउनु भएकाे हाे । 

उहाँले कुनै पनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभयो । उहाँले चुनावलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने पनि बताउनु भयो । पालिकामा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले चुनावको समयमा पक्ष/विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताउनु भयो । आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले पालिकामा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढङ्गले निगरानी राखेको पनि बताउनु भयो ।  

भण्डारीले भन्नुभयो, ‘कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरुको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ । उहाँहरुको त्यो सेवा अवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्नसक्छ । त्यो प्रकृतिको कसैलाई समर्थन गर्नेगरी आदेश, निर्देशन जारी गर्नुहुन्छ भन्ने आयोगले विश्वास नै गर्दैन । अहिलेसम्म हामीले पाएको प्रगति विवरण अनुसार कुनै पनि ठाउँबाट त्यस्ता चुनौती आएका छैनन् । अब आउँदा पनि आउँदैनन् । चुनौती आउनु पनि हुँदैन ।’ 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिने पनि बताएको छ । भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेहरुलाई तत्काल कारबाही गर्न आयोग सचेत रहेको बताउनु भयो । अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारहरुले आचारसंहिता उल्लङ्घनको घटना बढाउने सक्ने आकलन गरी आयोगले त्यही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि बताउनु भयो ।

भण्डारीले भन्नुभयो, ‘आचारसंहिता कुनै पनि ठाउँमा उल्लङ्घन हुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ । हामी यसप्रति सचेत भएर लागेका छौँ । यसको अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउनसक्छ ।  सचेत भएर कारबाही गर्नुहाेस् भनेर हामीले भनिसकेका छौँ । अब यस्ता किसिमका घटनाहरु हुँदैनन् ।’

गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको उहाँले बताउनु भयो । भण्डारीले चुनावलाई निष्पक्ष रुपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘गृह प्रशासनलाई पनि हामीले प्रशस्त निर्देशन दिएका छौँ । कुनै पनि ठाउँमा शान्ति, सुरक्षा, अमनचैन उल्लङ्घन हुने कुनै पनि काम हुनुहुँदैन । चुनाव प्रयोजनका लागि विभिन्न बेलामा विभिन्न किसिमका झडपहरु हुनसक्छन् । त्यो सबै नियन्त्रण हुनुपर्दछ । त्यो झडप नहुने प्रकृतिले पहिल्यै तयारी गरेर सम्बन्धित ठाउँमा बस्नुपर्दछ । त्यही अनुसार गृह प्रशासनले पनि सबै प्रमुख जिल्ला अधिकारीहरु र  अतिरिक्त सुरक्षाकर्मीहरु सबैलाई एकदम सचेत गराएर राख्नुभएको छ ।’ 

भण्डारीले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि बताउनु भयो। 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको