Chauthoanga - Nepali News Media
दाङका सबै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित

निर्मल आचार्य
पोलिटब्यूरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज
नेकपा (माओवादी केन्द्र)
नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल मंसिर ४ गते हुने निर्वाचनमा दाङका सबै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने बताउनुहुन्छ । गठबन्धन दलमा आएको थप एकता, मतदाता शिक्षामा भएको सुधार र अघिल्लो मत परिणामका आधारमा गठबन्धन दल सबै निर्वाचन क्षेत्रमा विजयी हुने उहाँको भनाई छ । आगामी निर्वाचन, गठबन्धनको अवस्था, निर्वाचण परिणामको आंकलन लगायतका विषयमा केन्द्रित भएर आचार्यसँग गरेको कुराकानिको सार :

निर्वाचन आउन चार दिन मात्र बाँकी छ । दाङमा निर्वाचनको माहोल कस्तो छ ?

निर्वाचनको मिति नजिकिदै गर्दा स्वभाविक रुपमा सबैको ध्यान निर्वाचनमा केन्द्रित हुने नै भयो । चाडपर्व र खेतिपातिको चटारोबाट उम्केर आम मतदाताहरु अहिले निर्वाचनमा केन्द्रित भइरहनुभएको छ । विस्तारै निर्वाचनमा रौनक बढ्दै छ ।

अहिले दाङमा गठबन्धन र एमालेको प्रतिस्पर्धा भइरहेको छ । दाङको चुनावी अंक गणितमा तपाईहरुको पोजिशन के हो ?

गठबन्धन दाङमा तीन ओटै क्षेत्रमा अगाडी छ । संघका तीन ओटा र प्रदेशका ६ ओटा गरेर ९ ओटै निर्वाचन क्षेत्रमा गठबन्धन अंक गणितका हिसाबले एमाले भन्दा निकै अघि देखिएको छ । सबै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित छ ।

गत स्थानीय तहको निर्वाचनमा अन्य पालिकामा गठबन्धनले जिते पनि जिल्लाका दुई उपमहानगरपालिकामा गठबन्धनले जित हासिल गर्न सकेन । कतिपयले गठबन्धनमा एकता पैदा भएन भनेर भन्ने गर्छन् । खास अहिलेको अवस्था के हो ?

स्थानीय तहको निर्वाचनमा परिणाम सकारात्मक नआउनुको मुख्य कारण मतदाता शिक्षाको अभाव नै हो । मतपत्रमा जानिबुझि गरिएको छेडखानले पनि काम ग¥यो । स्थानीय तहको निर्वाचनसँग गठबन्धको एकताको प्रशंग जोड्न आवश्यक छैन ।

जति मत बदर भयो । त्यसलाई सदर मात्र गर्न सकेको भए सबै क्षेत्रमा गठबन्धन अगाडी नै छ । अहिले गठबन्धन दलहरुमा विगतको शिक्षा लिएर हामीले थप रणनीति बनाएका छौं । त्यस कारण यो बेला विगतको जस्तो हुँदैन । गठबन्धनको अवस्था निकै नै अगाडी आउँछ ।

आम मतदाताले गठबन्धनलाई नै मतदान गर्नुपर्ने कारण के ?

पहिलो कारण संविधान निर्माणसँगै संविधानको रक्षा र कार्यान्वयन पनिसँगसँगै जोडिएर आउँछ । संविधान निर्माणमा एक ठाउँ रहेका राजनीतिक पार्टीहरु संविधान रक्षाको लागि एकै ठाउँ रहने कुरा स्वभाविकै हो । यो निर्वाचन संविधान रक्षा की संविधानको विघटन भन्ने मुल विषयमा केन्द्रित रहेको छ । त्यसैले संविधान रक्षाको लागि गठबन्धनलाई नै मतदान गर्नुपर्ने हुन्छ ।

दोस्रो संविधानमा रहेका सम्पूर्ण प्रावधानहरुलाई ऐन र कानून बनाई लागु गर्नुपर्ने दायित्व पनि छ । त्यस कारण पनि गठबन्धनले विजय हासिल गर्नुपर्ने छ ।तेस्रो समाजमा फेरी यो या त्यो रुपमा सामाजिक फासिवादी प्रवृत्ति हावि हुन खोज्दै छ । सामाजिक फासिवाद अन्तः तानाशाहि प्रवृत्तिमा रुपान्तरण हुन्छ । हामीले गणतन्त्र स्थापना गरेको कुनै तानाशाहि व्यवस्थाको परिकल्पना गरेर होइन ।

अहिले नेकपा एमाले र खास गरी सो पार्टीका अध्यक्ष केपी ओलीमा जुन प्रवृत्ति देखिएको छ । त्यो सामाजिक फासिवादी प्रवृत्ति हो । यसलाई बेलैमा रोक्न सकिएन भने यो प्रवृत्ति तानाशाहि प्रवृत्तिमा रुपान्तरण हुन्छ । त्यसको कारण फेरी नेपालमा द्धन्द्ध सृजना हुन्छ । विग्रह आउँछ । अब नेपाली समाजले द्धन्द्ध र विग्रह सहन सक्दैन ।शान्तिकामी नेपालीको चाहना बमोजिम नेपालमा जुन ढंगको सापेक्षित शान्ति स्थापना भएको छ । त्यसलाई बचाईराख्नका लागि गठबन्धनलाई भोट हाल्नुपर्छ ।

चौंथो अहिले सुशासनमा हामीले धेरै सुधार गर्नुपर्ने छ । त्यसलाई दीगो तुल्याउनका लागि सामुहिक प्रयत्नको आवश्यकता छ । हामी संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा छौं । सक्दा राष्ट्रिय सहमतिको सरकार । त्यो भएन भने पनि अत्याधिक दलहरु सहभागि भएको संयुक्त सरकार अहिलेको आवश्यकता हो । त्यसको लागि गठबन्धनलाई विजयी गराउन आवश्यक छ ।पाँचौं भ्रष्टाचार हाम्रो प्रगतिको मुख्य बाधकको रुपमा आइरहेको छ । यसलाई जरैबाट निर्मुल गर्नका लागि सामुहिक प्रतिबद्धताको आवश्यकता छ । त्यसका लागि गठबन्धनलाई मतदान गर्नुपर्छ ।छैंठौ भनेका सापेक्षित स्थिर सरकार र दीगो आर्थिक विकाशका लागि पनि गठबन्धनलाई मतदात गर्नुपर्छ ।

अहिले दाङ निर्वाचन क्षेत्र नं २ राष्ट्रियरुपमा नै चासोको रुपमा हेरिएको निर्वाचन क्षेत्र हो । एमालेका शक्तिशाली महासचिव शंकर पोख्रेल र पूर्वमन्त्री रेखा शर्मा चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा गठबन्धलाई कत्तिको चुनौतिपूर्ण छ ?

गठबन्धनमा चामात्कारिक हिसाबले लहर पैदा भएको छ । गठबन्धनमा आपसी विश्वास, पार्टीहरुभित्रको एकता र स्थानीय तहको अनुभवलाई मुख्य कारण मान्न सकिन्छ । यो निर्वाचन क्षेत्रमा बंगलाचुली गाउँपालिकाका ८ वडा, घोराही उपमहानगरपालिकाका १५ र तुलसीपुर उपमहानगरपालिकाका ४ ओटा गरेर २७ ओटा वडा समावेश छन् ।

हामि सबै वडामा अगाडी छौं । बंगलाचुलीमा अपेक्षित सुधार भएको छ । हामी त्यहाँबाट चार हजार मतले लिड गरेर आउँछौं । घोराहीका वडाहरुमा निकै नै सुधार भएको छ । हामी सबै वडामा लिड गर्छौं । तुलसीपुरका चार वटै वडामा गठबन्धन अगाडी नै छ । अहिलेको भएको सुधार, गठबन्धनमा देखिएको थप बजवुत एकता र मतदाता शिक्षामा भएको सुधारलाई हेर्दा हामी दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिपक्षलाई २० हजार मतले लिड गर्छौं ।

म यसमा केही तथ्य राख्न चाहन्छु । पहिलो यो निर्वाचन क्षेत्रमा सदर मतमै हामी पाँच हजारले अगाडी छौं । दोस्रो १० हजार मत बदर भएको हो । यो यस पटक सदर हुन्छ । तेस्रो घटाउँदा पनि अहिले पाँच हजार मत सुधार हुन्छ । यसरी हेर्दा हामी २० हजार मतले विजय हुने छौं ।

१ नं र ३ नं निर्वाचन क्षेत्रको अवस्था चाहि कस्तो छ नि ?

सबैतिर करिब करिब त्यस्तै अवस्था हो । १ नं निर्वाचन क्षेत्रमा गठबन्धनमा अभूतपूर्व एकता छ । त्यसको परिणाम कमरेड मेटमणी चौधरीको विजय सुनिश्चित छ । १ (१) मा कमरेड इन्द्रजित चौधरी निर्विकल्प नेतृत्वमा स्थापित भइसक्नुभएको छ । १ (२) मा युवा उम्मेदवार अनुराग खड्काप्रति लोभालाग्दो आकर्षण छ । यसरी हेर्दा निर्वाचन क्षेत्र नं १ का तीन ओटै क्षेत्रमा विजय सुनिश्चित छ ।

निर्वाचन क्षेत्र नं ३ मा पनि हामीले तुलसीपुरको हकमा स्थानीय तहमै गठबन्धन गरेका थियौं । त्यसको अनुभवले पश्चिमका तीन ओटा पालिकालाई थप केन्द्रित गर्न धेरै मद्धत गरेको छ । हामीले सोँचे भन्दा छिटो र राम्रोसँग गठबन्धन केन्द्रित भयो । यसको परिणाम दीपक गिरीजीको विजय सुनिश्चित छ । ३ (१) मा त्यहाँको बहुमत समुदायको नेतृत्व गर्ने गरी डिल्ली चौधरीजी हुनुहुन्छ ।

करीब उहाँ त्यो क्षेत्रको निर्विरोध नेताको रुपमा नै हुनुहुन्छ । ३ (२) मा कमरेड धनबहादुर मास्केप्रति अत्यन्त उत्साहजकन केन्द्रिकरण भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति, माओवादीका स्थायी समिति सदस्य कुवेरबहादुर वली र पोलटिब्यूरो सदस्य जगप्रसाद शर्माले ३ नंको नेतृत्व गरिरहनुभएकाले पनि जित सुनिश्चित नै छ ।

र, अन्त्यमा आम मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

यो निर्वाचन आम निर्वाचन मात्र नभएर अग्रगमण र पश्चगमणकाबीचमा जीवन मरणको संघर्ष जस्तै बनेको छ । अहिलेको अग्रगमण भनेको संविधानको रक्षा हो । दंगाली जनता जहिले पनि अग्रगमणको पक्षमा छौं ।

अहिले पनि मत हाल्न जानुभन्दा पहिले संघर्ष, एकता पछि बनेको संविधानलाई संझिएर गठबन्धनमा मतदान गर्नुहुने छ भन्ने हार्दिक अपिल गर्दछु ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको