Chauthoanga - Nepali News Media
पसिना पुछ्दै टीनको छाप्रोमा पढाइ थप सामग्री
tulsipur_1647511867.jpg

वरिपरि टीनले बेरिएको छ। त्यही टीनले बेरिएको छाप्रोभित्र शिक्षक विद्यार्थीलाई पढाइरहेका छन्। छाप्रोभित्र चैतको पारिलो घाम छिरेको छ। शिक्षिका सलले निधारमा परेको घाम छेक्दै ‘ह्वाइट बोर्ड’ मा लेखिरहेकी हुन्छिन्।

विद्यार्थी एक हातले कपीले निधारमा परेको घाम छोपिरहेका हुन्छन् भने एक हातले शिक्षिकाले भनेको कुरा कापीमा टिपिरहेका हुन्छन्। यही चित्र देखिन्छ, उपमहानगरमै रहेको विद्यालयको। तुलसीपुर उपमहानगरपालिका-३ अम्बासमा पर्ने यो विद्यालयका तीन वटा कक्षाका विद्यार्थीले टीनको छाप्रोमा पढिरहेका हुन्छन् भने एउटा कक्षाका  विद्यार्थी बाहिरै पढिरहेका हुन्छन्।

विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा कात्तिकदेखि यसरी बाहिरै पढाइ भइरहेको छ। हिउँदमा बाहिर पढ्दा पनि त्यति समस्या भएन, तर अब गर्मीयाम शुरू भएकाले निकै समस्या हुने गरेको शिक्षिका कमला शर्माले बताइन्। “हिउँदमा त ठीकै थियो, अब गर्मी समय भयो, घामले निकै पोल्छ, हावाहुरी लाग्दा टीन खसेर चोट लाग्ने हो कि भन्ने उत्तिकै डर छ,” उनले भनिन्, “पानी पर्‍यो भने पनि कसरी पढाउने भन्ने समस्या छ।”

एउटा कक्षाका विद्यार्थीलाई पढाएको कुरा अर्को कक्षाका विद्यार्थीले सुन्छन्। एकातर्फ होहल्ला गरेको अर्कोतिर सुनिन्छ। विद्यार्थीले एकातिर पढाएको कुरा अर्कैतिर सुनिने भएकाले बुझ्न पनि समस्या हुने गरेको बताउने गरेका छन्। “विद्यार्थीको होहल्लाले पनि पढ्न गाह्रो हुन्छ, एकातिर पढाएको अर्कातिर सुनिन्छ,” कक्षा ७ मा अध्ययनरत छात्रा प्रतीक्षा गुरुङले भनिन्, “छिटो कक्षाकोठा बनाएको भए हुन्थ्यो, हामीलाई पढ्न निकै समस्या भयो।”

अहिले कक्षा ४, ५, ६ र ७ का विद्यार्थी यसरी छाप्रो र खुला चौरमा पढ्न बाध्य छन्। २०२८ सालमा स्थापना भएको विद्यालयका भवन पुराना भएका थिए।

पुराना भवनलाई भत्काएर नयाँ भवन निर्माण गर्ने कार्य अघि बढ्यो। तर, समयमै विद्यालय भवन निर्माण पूरा नभएपछि अहिले यसरी बाहिर राखेर पठनपाठन गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर राणाले बताए।

“हामीकहाँ एउटा पुरानो भवन थियो, त्यही भवनमा विद्यार्थीले पढ्ने गरेका थिए, पुरानाे भएकाले पानी चुहिने खालको निकै जीर्ण थियो,” उनले भने, “नयाँ भवन निर्माण गर्नुपर्ने अवस्था भयो, तर अन्य ठाउँमा हामीसँग जग्गा भएन, त्यसपछि भएको भवनलाई भत्काएर नयाँ भवन बनाउनुपर्ने भयो। त्यही क्रममा पहिले भएको भवन भत्काएर नयाँ भवन निर्माण गर्न थालिएकाले अहिले बाहिर पढाउनुपर्ने बाध्यता छ।”

पुरानो भवन गत कात्तिकमा भत्काएर नयाँ निर्माण थालिएको हो। तर, अहिलेसम्म काम अघि बढेको छैन। छाया नेपालले सँगसँगै निर्माण थालेको तुलसीपुर-७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ। अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ।

विद्यालयका प्रधानाध्यापक राणाका अनुसार, असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी त्योभन्दा अगावै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो। तर, आश्वासन अनुसार काम नहुँदा अहिले छाप्रामा पढाउनुपर्ने बाध्यता रहेको गुनासो गरे। “पानी पर्न थाल्यो वा हावाहुरी चल्न थाल्यो भने विद्यालय बन्द हुने अवस्था छ,” उनले भने।

एक करोड ४३ लाख लागतमा आठ कोठाको भवन निर्माण हुन लागेको हो। कक्षा १० सम्म सञ्चालित विद्यालयमा अहिले २४५ विद्यार्थी छन्।  छिमेकी थापापानी, बल्ले, टिमगैरा, टुनापानी, सितेधारा, सिस्नेरी, कल्ले, बल्ले, अम्बास, बोहरागाउँ र गहिरा नाउला लगायतबाट विद्यार्थी पढ्न आउँछन्। (रासस)
 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको