Chauthoanga - Nepali News Media
दाङमा यसपटकको निर्वाचनमा पनि बदर मत घट्न सकेन,अझै औंठाछाप धेरै

दाङ- दाङमा यसपटकको निर्वाचनमा पनि बदर मत घट्न सकेन । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा जस्तै २०७९ मा पनि मत बदर भएको पाइयो ।निर्वाचनलाई लक्षित गरेर लाखौं बजेट मतदाता शिक्षामा खर्च गरे पनि बदर मत संख्या यसपालि पनि घटेन । यसपालि निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा पठाउने भनिए पनि औपचारिकतामा मात्रै मतदाता शिक्षा चलेको बदर मत नघट्दा प्रमाणित भएको छ । एउटा वडामा एकजनालाई मात्रै मतदाता शिक्षाको जिम्मेवारी दिदा र राजनीतिक दलका तर्फबाट चुनावी प्रचारप्रसारमा मात्रै जोड र मतदान तरिकामा ध्यान नपु¥याउँदा पनि बदर मत बढेको विश्लेषण गरिएको छ ।

यसपटकको मत बदरमा पनि आंैठाछाप अत्यधिक भेटिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले धेरै चिन्हमा छाप लगाउने र औंठाछाप लगाउने धेरै रहेको बताउनुभयो । ‘औंठाछाप लगाउने पनि धेरै रहेको पाइयो’– उहाँले भन्नुभयो– ‘स्थानीय तहभन्दा त आधा कम मत बदर भयो तर मतदाता शिक्षाको कमी महसुस गरेका छौं ।’

स्थानीय तहको जिम्मामा आयोगले मतदाता शिक्षा कार्यक्रम राखेको बताउँदै उहाँले बदर मत नघट्नुमा आयोगको कमजोरी भएको स्वीकार्नुहुन्छ । ‘मतदाता शिक्षाको कमीले बदर मत घटेन यसमा आयोगको कमजोरी त छँदैछ दलले पनि यसमा ध्यान दिनु जरुरी छ’– उहाँ भन्नुहुन्छ– ‘दलले पनि चुनाव प्रचार मात्रै धेरै गरे मतदान गर्ने तरिका राम्रोसँग नसिकाउँदा मत बदर भयो ।’

औंठाछाप हानेर मत बदर भएजस्तै जिल्लामा धेरै निर्वाचन चिन्हमा मतदान गर्दा, चिन्ह बाहिर मतदान गर्नेमात्र नभएर रोचक प्रकारका बदर मतपत्र समेत भेटिए । संविधानले नो भोटको अधिकार दिए पनि निर्वाचन आयोगले यसलाई कार्यान्वयन नगरेको प्रति दबाब दिदै मतदाताले मत संकेत नगरेर कलमले नो भोट लेखेको मत भेटिएको मतगणनामा बसेका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले जानकारी दिए । प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीको मत गणनाको क्रममा नो भोट लेखेका मतपत्र भेटिएका थिए भने केही खाली मतपत्र पनि भेटिए । प्रदेशतर्फको समानुपातिक मतपत्रमा ‘प्रदेश खारेज गर’ लेखेको मतपत्र पनि भेटियो भने मतपत्रमा मत संकेत नगरेर कट्टा गरेर केरमेट समेत गरिएको भेटियो ।

दाङमा यसपटकको निर्वाचनमा समानुपातिकतर्फ २० हजार दुई सय ३५ मत बदर भएका छन् । दाङ निर्वाचन क्षेत्र नं. १ मा छ हजार सात सय ४६, दुईमा छ हजार चार सय २५ र तीनमा सात हजार ६४ मत बदर भएको छ । प्रत्यक्षतर्फ २६ हजार ५५ सय ४२ मत दाङमा बदर भएका छन् जुन खसेको मतको पाँच दशमलव १५८ प्रतिशत हो । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा दाङमा प्रतिनिधिसभातर्फ जम्मा मतदाताको ६७ दशमलव ६४ प्रतिशत मत खसेकोमा १३ हजार सात सय २६ अर्थात ५ दशमलव ९८ प्रतिशत मत बदर भएको थियो भने प्रदेशसभातर्फ कुल मतदाताको ६७ दशमलव ६७ प्रतिशत मत खसेकोमा ११ हजार नौ सय ६९ अर्थात ५ दशमलव २२ प्रतिशत मत बदर भएको थियो ।

२०४८ सालको आमनिर्वाचनमा देशभर ७२ लाख ९१ हजार ८४ मत खस्दा ४.४ प्रतिशत बदर भएको थियो । अढाई दशकपछि २०७४ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मत घट्नुको साटो झनै बढ्यो । त्यो संख्या २०७९ मा आएर पनि उस्तै छ । मतदान प्रक्रियाबारे मतदाताको चेतना कमी हुनु र त्यसमाथि मतपत्रको ढाँचा जटिल भइदिदा मत बदरको संख्या बढाउँदै आएको देखिन्छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मतपत्र ठूलो भएका कारण चुनाव चिन्ह खोजेर मतदान गर्न मतदातालाई निकै कठिन भयो । जसका कारण १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरूपमा मत बदर भएको थियो ।

कहाँ कति बदर

प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारी अनुसार दाङमा यस पटकको निर्वाचनमा प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामा खसेको ७८ हजार दुई सय ६७ मतबाट चार हजार पाँच सय ८० मत बदर भएको छ । निर्वाचन क्षेत्र नं. २ मा एक लाख ३३ हजार सात सय ४८ मतदातामा खसेको ७९ हजार तीन सय ३७ मतमा चार हजार सात सय छ मत बदर भएको छ । त्यसैगरी एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेको निर्वाचन क्षेत्र नं. ३ मा ९० हजार पाँच सय ३५ मत खस्दा पाँच हजार चार सय ३२ मत बदर भएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ (१) मा ७० हजार दुई सय ६७ मतदाता रहेकोमा ३९ हजार आठ सय ४४ मत खस्यो । खसेको मतमा दुई हजार चार सय १० मत बदर भयो । ६४ हजार चार सय ६६ मतदाता रहेको क्षेत्र नं.  १ (२) मा ३८ हजार चार सय ५४ मत खसेकोमा एक हजार सात सय ६३ मत बदर भयो । निर्वाचन क्षेत्र नं. २ (१) मा ६३ हजार तीन सय २२ मतदातामा ३६ हजार हजार नौ सय ९३ मत खस्यो जसमा एक हजार चार सय ८५ मत बदर भयो । निर्वाचन क्षेत्र नं. २ (२) मा ७० हजार चार सय २६ मतदातामा ४२ हजार एक सय ५२ मत खसेकोमा दुई हजार ३९ मत बदर भयो । ६६ हजार चार सय ६८ मतदाता रहेको निर्वाचन क्षेत्र नं. ३ (१) मा ४० हजार चार सय ७४ मत खसेकोमा एक हजार आठ सय ७८ मत र ७९ हजार नौ सय ८९ मतदाता रहेको निर्वाचन क्षेत्र नं. ३ (२) मा ४९ हजार नौ सय ३३ मत खसेकोमा दुई हजार दुई सय ५८ मत बदर भएको छ ।

क्षेत्र नं. ३ र १ (१) मा बढी

यसपटकको निर्वाचनमा प्रतिनिधिसभातर्फ दाङमा निर्वाचन क्षेत्र नं. ३ मा मत बढी बदर भएको छ । निर्वाचन क्षेत्र नं. ३ मा ५ दशमलव ९९० प्रतिशत बदर हुँदा दुईमा ५ दशमलव ९३२ र निर्वाचन क्षेत्र नम्बर ३ मा ५ दशमलव ८५२ प्रतिशत मत बदर भएको छ । प्रदेशसभातर्फ सबैभन्दा बढी निर्वाचन क्षेत्र नं. १ (१) मा बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारीअनुसार निर्वाचन क्षेत्र नं. १ (१) मा ६ दशमलव ०४९ प्रतिशत बदर भएको छ । त्यसपछि निर्वाचन क्षेत्र नं. २ (२) मा ४ दशमलव ८३७, निर्वाचन क्षेत्र नं. ३ (१) मा ४ दशमलव ६४०, निर्वाचन क्षेत्र नं. १ (२) मा ४ दशमलव ५८५, निर्वाचन क्षेत्र नम्बर ३ (२) मा ४ दशमलव ५२२ प्रतिशत र सबैभन्दा कम निर्वाचन क्षेत्र नं.  २ (१) मा ४ दशमलव ०१४ प्रतिशत मत बदर भएको छ । नयँयुगबोध दैनिकबाट

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको