Chauthoanga - Nepali News Media
दाङको समृद्धिको लागि भूमिका खेल्ने छौ’
savasad haru.jpg

दाङ - दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नव निर्वाचित सदस्यहरूले जिल्लाको समृद्धिको लागि भूमिका खेल्ने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन । सबै मिलेर जिल्लाको समृद्धिमा अगाडि वढ्नु पर्ने उनीहरूको भनाइ रहेको थियो ।

दाङ क्षेत्र नं २ प्रतिनिधि सभाका निर्वाचित सदस्य रेखा शर्माले जिल्लाको विकासका लागि सबै एउटै स्थानमा उभिनु पर्ने बताउनुभयाे । सबै दलहरू तथा सरोकारवालाहरू एउटै स्थानमा उभिएर अगाडि बढेमा विकासका काम अगाडि बढाउन सहज हुने उहाँको भनाइ छ । विकास निर्माणमा राजनीति गर्न नहुने उहाँको भनाइ रहेको छ । ‘उम्मेदवार हुँदा राजनीतिक दलबाट भए हौला निर्वाचित भएपनि साझा भएर काम गर्नु पर्दछ’ उहाँले भन्नुभयाे ।

दाङ क्षेत्र नं २ (१) वाट निर्वाचित प्रदेश सभा सदस्य राजु खनालले विकास निर्माणका कार्यमा देखिएका समस्या समाधान गर्न नीतिगत रुपमा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयाे । नीतिगत रुपमा केही त्रुटि हुँदा समस्या भएको उहाँको भनाइ रहेको छ ।

नीतिगत रुपमा परिवर्तन गरेर अगाडि बढ्दा काम गर्न सजिलो हुने उहाँले बताउनुभयाे । ‘पैसा नभएर विकास निर्माणका काम रोकिएको होइन नीतिगत रुपमा समस्या हुदा विकास निर्माणका कामहरू अलपत्र परेका छन्’ उहाँले भन्नुभयाे ।

दाङ क्षेत्र नं २ (२) वाट नव निर्वाचित प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले जिल्लाको विकासलाई सडक सञ्जालले जोडनु पर्ने बताउनुभयाे । सडक सञ्जालले जोडन सकेमा जिल्लाको विकासमा सहयोग पुग्ने उहाँको भनाइ रहेको छ । अन्तर जिल्ला जोडने सडक सञ्जाल जोडन सकेमा यस क्षेत्रलाई अगाडि बढाउन सकिने उहाँले बताउनुभयाे । ‘जिल्लामा धेरै सम्भावना रहेका छन् सभावनालाई सदुपयोग गरेर अगाडि बढ्न आवश्यक छ’ न्यौपानेले भन्नुभयाे । जिल्लामा कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको धेरै सम्भावना रहेको उहाँले बताउनुभयाे ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टङ्कसिंह बुढाथोकीले आर्थिक विकासका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयाे । उहाँले जिल्लाको आर्थिक विकासका लागि औद्योगिककाे कार्यान्वयन, एयरपोर्ट सञ्चालन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास, नाप तौलको कार्यालय स्थापना लगायतका कामहरू अगाडि वढाउनु पर्ने बताउनुभयाे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उद्देश्य अनुसार काम अगाडि बढाउनु पर्ने, कोइलावास नाकामा भन्सार प्रभावकारी रुपमा सञ्चालन गराउन तर्फ लाग्न आग्रह गरेका थिए ।

उनीहरूले सुशासन पारदर्शि रुपमा काम गर्न, नमुनाको रुपमा काम गर्न, नवीनतम सोचका साथ अगाडि बढ्नु पर्ने, नीतिगत सुधार गर्न अगाडि बढ्न आग्रह गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्षहरू रामदयाल गुप्ता, हेमराज बन्जाडे, मधुसुदन वैद्य, माधवप्रसाद शर्मा, चन्द्रराज पन्त, निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्मा, उद्योग उपाध्यक्ष अनिल आचार्य लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा नवनिर्वाचितहरुलाई टीका र माला लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गर्नुभएकाे थियाे । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको