Chauthoanga - Nepali News Media
प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ ।

सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहनुभएको छ ।

दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन । पछिल्लो पटक उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले हराउनुभयो । खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सुनसरी ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर नेकपा एमालेकी भगवती चौधरी विजयी हुनुभएको छ । पछिल्लो यो नतिजासँगै मतगणना सकिएका १ सय ६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन् ।  

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको