Chauthoanga - Nepali News Media
माओवादीले भन्यो– ‘गठबन्धन फोड्ने वा तोड्ने पक्षमा छैनौँ’

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारूढ गठबन्धनको विकल्प नखोजेको बताएको छ । 

आज आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारूढ गठबन्धनको विकल्प खोज्न नहुने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी गठबन्धनमा भएको हुनाले पहिलो कुरा त गठबन्धनमा आधारित भएर सोच्ने कुरा हो । अहिले गठबन्धनमै भएको हुनाले गठबन्धनमा कुनै विमति पैदा भएर, कुनै असहमति पैदा भइसकेको अवस्था त होइन । गठबन्धन तोड्नुपर्छ । फेर्नुपर्छ भन्ने कुरामा पुगेको अवस्था होइन । गठबन्धनबाट को–कोसँग वार्ता गर्ने, को–कोसँग कुरा गर्ने, गठबन्धनमा अझ बलियो कसरी बनाउने, कति कुरा मिल्छन्, कति कुरा मिल्दैनन् । त्यो त गठबन्धनमा निर्भर रहने विषय भयो । त्यसो भएको हुनाले अहिले पार्टीले गठबन्धनको विकल्प तुरुन्तै सोचिसकेको अवस्था होइन ।’

महासचिव गुरुङले नेकपा एमालेसँग गठबन्धन गर्ने सम्बन्धमा छलफल नभएको बताउनुभयो । उहाँले एमालेसँग कुनै प्रकारको कुराकानी नभएको उल्लेख गर्नुभयो । माओवादी केन्द्रले सरकार गठनका लागि पहिलो प्रयास गठबन्धनभित्रै गर्ने उहाँको भनाइ छ । 

महासचिव गुरुङले चुनाव परिणाम अपेक्षा गरेअनुसार नआए पनि सफल र परिणाममुखी नै भएको बताउनुभयो । चुनाव परिणामलाई स्वीकार्दै र कमजोरीलाई सुधार्दै पार्टीलाई सुदृढ बनाउँदै अघि बढाउने बैठकको निष्कर्ष रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको