Chauthoanga - Nepali News Media
ओभरलोड बढ्यो, सडक धुजा–धुजा

- दशरथ घिमिरे

देउखुरी - केही दिनअघि सिमेन्ट बोकेका छवटा टिपर ओभरलोड अवस्थामा फेला परे । ट्राफिक प्रहरी कार्याल लमही र राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले निगरानी गरेको थियो । जसमा ५३ र ४८ टन बोकेको टिपर फेला परे । जुन नियम विपरीत थिए । ट्राफिक प्रहरी कार्यालयले ओभरलोड बोकेका टिपरलाई जरिवाना गरेर छाडिदियो । पछिल्लो समय दाङमा खुलेका सिमेन्ट उद्योगका कारण ओभरलोड बोकेका सवारी साधन बढी गुड्न थालेका छन् ।

दाङ जिल्लामा सगरमाथा, सम्राट, सोना सिमेन्ट गरी चारवटा उद्योग सञ्चालनमा छन् । ओभरलोडका कारण सडकको अवस्था दयनीय बन्न पुगेको, ट्रक व्यवसायी मर्कामा परेको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताउनुभयो ।

‘ओभरलोड बोक्दा सडकको अवस्था दयनीय भयो । हामीले त्यस्ता सवारी साधनलाई कारवाही गर्न माग गर्दै आएका छौं’– अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘औद्योगिक सामग्री र कच्चापदार्थ ओसारपसार गर्न ओभरलोड बोक्ने प्रवृत्ति बढ्यो ।’ दाङमा ओभरलोड बोक्ने सवारी साधनका कारण सडकमा क्षति पुगेको छ । सिमेन्ट उद्योगका लागि चाहिने कच्चापदार्थ र तयारी सिमेन्ट सडकको क्षमता भन्दा बढी बोक्न थालिएको छ । जसले गर्दा सवारी दुर्घटना बढ्नुका साथै सडक धुजाधुजा बनेको छ ।

सडक क्षमताभन्दा बढी भार बोकेका सवारी साधनका कारण लमही घोराही सडकखण्ड धुजाधुजा भएको छ । यस सडकखण्ड पहिलेदेखि नै नाजुक अवस्थामा छ । गाडीले ३० टन भन्दा बढी सामान बोकेर आउने भएकाले सडक भत्किएर नाजुक अवस्थामा पुगेको हो । भारतीय नम्बर प्लेटका ट्रकका कारण ओभरलोड बोक्ने प्रवृत्ति बढेको छ । सिमेन्ट उद्योग र अन्य ठूला उद्योगका लागि चाहिने औद्योगिक सामग्री, कच्चापदार्थ भारतबाट सिधै नेपाल ल्याउने गरिएको छ । जसले गर्दा नेपाली ट्रकले काम नपाउने अवस्था छ । भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी समिति धरासायी अवस्थामा पुगेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय सचिव उमेशचन्द्र मजगैयाँले बताउनुभयो । ‘भारतीय नम्बर प्लेटका ट्रकहरु सिधै नेपाल भित्रिने गरेकाले हामी मारमा प¥यौं । ती सवारी साधनले ओभरलोड बोक्छन् । निगरानी भएन । नेपाली ट्रक व्यवसायी मारमा पर्ने, भारतीय ट्रक व्यवसायी फाइदामा जाने अवस्था बन्यो’– उहाँले भन्नुभयो– ‘भारतमा ट्रकको मूल्य नै थोरै छ । डिजेल र अन्य पाटपूर्जाको पनि मूल्य कम छ । जसले गर्दा उनीहरु सहज रुपमा चल्न सक्छन् । यसले हामीलाई मर्का प¥यो ।’

प्रचलित कानुन अनुसार छचक्के ट्रकले १० टन, १० चक्केले १७ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन लोड बोक्न पाउने प्रावधान छ । तर यो मापदण्ड विपरीत ओभरलोड बोक्ने गरिएको छ । ओभरलोड बोकेको सवारी साधनलाई प्रहरी, प्रशासनले प्रभावकारीरुपमा कारवाही गर्न नसकेको गुनासो छ । दाङमा सुरक्षा निकायले ओभरलोड बोक्ने सवारी साधनलाई निगरानीमा राखेर कारवाही गरिरहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । ‘ओभरलोड बोकेका सवारी साधनलाई निगरानी बढाएका छौं । कारवाही गरेका उदाहरणहरु पनि छन्’– उहाँले भन्नुभयो– ‘नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर कसैले पनि ढुवानी गर्न पाउँदैन ।’

ओभरलोड बोक्न निषेध गरिएको छ । तर मालबाहक सवारी साधनले निर्वाधरुपमा ओभरलोड बोक्ने गरेका छन् । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ । नयाँयुगबोध दैनिकबाट

 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको