Chauthoanga - Nepali News Media
राष्ट्रिय कृषि जैविक विविधता दिवस : रैथाने बाली, पशुपक्षी तथा सूक्ष्म जीवाणुमध्ये झण्डै ४० प्रतिशत लाेप
agriculture_he8ry5emTK.jpg

काठमाण्डाै - सरकारले पहिलो पटक यस वर्षदेखि राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउँदैछ । माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको हो । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्त्वका आधारमा दिन छनोट गरी दिवस मनाउन लागिएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्तिका दिन नेपाली समाजले जे–जस्ता कुरा उपभोग गर्छ, ती सबै कृषि जैविक विविधतासँग जोडिएका बताउनुभयो । माघे सङ्क्रान्तिमा जातीय परम्पराअनुसार नियमित खानाबाहेक खित्रो, सेलरोटी, सखरखण्ड, तरुल, पीडालु, फुलौरा, तिलौरा, घ्यू, चाकु, माछा, मासु, घुँगी, अण्डालगायत परिकार बनाएर खाने परम्परा छ ।

कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जन एवम् स्वच्छ वातावरणको मुख्य आधार भएको उल्लेख गर्दै सरकारले बजेट वक्तव्यमार्फत् २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।

पछिल्लो समय बासस्थान विनाश, आधुनिक खेतीका नाममा नकारात्मक अभ्यास र अन्य मानव सिर्जित कारणले समग्र जैविक विविधता संरक्षणमा ह्रास हुँदै आएको छ । रैथाने कृषि जैविक विविधता बाली, घाँसेबाली, पशुपक्षी, जलीय, किरा र सूक्ष्म जीवाणुजन्यमध्ये झण्डै ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका निर्देशक रामकृष्ण श्रेष्ठका अनुसार राष्ट्रिय कृषि जैविक विविधता दिवस आजदेखि विभिन्न कार्यक्रम गरी साताव्यापी रूपमा मनाइनेछ ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको